काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशालाअन्तर्गत इन्क्युबेसन कार्यक्रमका लागि देशभरका नवप्रवर्तनशील सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्यमीहरूले भोग्ने साझा चुनौती समाधान गर्न यो प्लेटफर्म तयार गरिएको बताए। उनका अनुसार विषयविज्ञ, अनुभवी व्यवसायी र प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, सीप तथा व्यवसाय सञ्चालनसम्बन्धी परामर्श प्रदान गरिनेछ।
उद्यमशाला कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। इन्क्युबेसन कार्यक्रम नयाँ व्यवसायिक सोच भएका र उद्यम सुरु गर्न चाहने युवालाई लक्षित हुनेछ भने एक्सीलेरेसन कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीका लागि केन्द्रित हुनेछ।
कार्यक्रममार्फत सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना, बजारीकरण तथा बैंकिङ पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ अधिकारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।