free website hit counter

बीग मर्जरले दिएका सन्देश र चुनौतीहरु

beemaadmin
२०७६ मंसिर २१, शनिबार

नेपालको बैकिङ्ग इतिहासमा ग्लोबल आइएमईसँग १० वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन भएका र जनता बैंक नेपालसँग ६ बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसन भएको अवस्थाबाट दुई सस्था मर्जमा गएर एक भए पश्चात् नयाँ बनेको ग्लोबल आईएमई बैंकमा १८ सस्थाको संयुक्त कारोबार हुन थालेको मान्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले पहिले बैंक तथा वित्तीय सस्थाको पुहँच जनतामा पुर्याउनेका नाममा बैंक तथा वित्तीय सस्थाहरू खुल्ने क्रमलाई बढावा दिएको भए तापनि हाल केही बर्षयता भने सस्थालाई बलियो बनाउन चुक्ता पुँजीमा वृद्धि गर्दै बैंक तथा वित्तीय सस्थाको सङ्ख्या कम गर्ने रणनीति लियो । धेरै बैंक तथा वित्तीय सस्थाहरूले राष्ट्र बैंकको उक्त रणनीतिको फाइदा उठाउँदै हकप्रद सेयरको भारी बोकाएरै भए पनि चुक्ता पुँजी वृद्धि गरे तर सस्थाहरू मर्जमा नएनन । उक्त विषय राष्ट्र बैंकका लागि टाउको दुखाईको विषय बनेको सन्दर्भ अहिले भने बदलिएको छ ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गर्ने नीति ल्याए पश्चात् विगत दुई बर्षदेखि सस्थाहरूको मर्जर तथा एक्विजिसनले गति लिएको छ । विगतमा ठूला बैंक तथा वित्तीय सस्थाहरू र कम पुँजी भएका सस्थाहरू ठूला बैंक वित्तीय सस्थासँग मर्ज तथा एक्विजिसनमा जाने प्रकृया अघि बढेको भए तापनि ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जरले भने मुलुकमा ठूलो र चुक्ता पुँजी धेरै भएको बाणिज्य बैंकहरू पनि समयानुकुल रणनीति परिवर्तन गर्दै अघि बढिरहेको सन्देश दिएको छ । विगतमा सरकारी स्वामित्वको नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकका शाखाहरू मुलुकभर छरिएको भए तापनि निजी क्षेत्रका बैंकहरू भने धेरै आर्थिक कारोबार हुने स्थानमा मात्र जाने प्रचलन थियो । नेपाल राष्ट्र बैंकले दुर्गम क्षेत्रमा पनि जान भनेपछि पनि शाखा विस्तार नगर्ने बरु जरिबान खप्ने प्रचलन थियो ।

 

हाल भने बैंकहरूको शाखा विस्तारको लहर नै चलेको देखिन्छ । मुलुकभर शाखा विस्तार गर्दाको अवस्थामा मात्र बढी कारोबार हुन्छ भन्ने मान्यतालाई बैंक तथा वित्तीय सस्थाले स्वीकारेको अवस्था हो अहिले । मुलुकभर बढीभन्दा बढी शाखा विस्तारलाई आक्रामक बनाउने सिलसिलामा एनआईसी एसिया बैंकले आफूलाई अग्रस्थानमा उभ्याएको मात्र होइन नाफामा समेत सुधार ल्याएको देखेर हाल अन्य बैंकहरू पनि नयाँ रणनीतिमा लागेको पाइन्छ । त्यसै सन्दर्भमा मङ्सिर २० बाट संयुक्त कारोबार थालेको र सबैभन्दा ठूलो चुक्ता पुँजी भएको बैंकको रुपमा स्थापित हुन पुगेको ग्लोबल आइएमई बैंकले पनि आफ्नो चुक्ता पुँजी १९ अर्ब नजिक पुर्याएको छ ।

। त्यसैगरी प्राथमिक पुँजी २४ अर्ब, निक्षेप दुई खर्ब १३ अर्ब, कर्जा एक खर्ब ९४ अर्ब पुर्याएर करिब तीन हजार तीन सय कर्मचारी मार्फत मुलुकभर २५९ एटीएम र झण्डै तीनसय शाखा र ३३ एक्सटेन्सन काउन्टर मार्फत मुलुकभर बैकिङ्ग सेवा पुर्याएर आफूलाई मुलुकका सात प्रदेशको नयाँ संरचनामा आफूलाई ठूलो संरचनाको बैंकको रुपमा स्थापित गर्न सफल भएको छ ।

ग्लोबल आईएमई बैंकको मर्जरले मुलुकमा ठूलो संरचनामा जान अरु बैंक वित्तीय सस्थाहरूलाई पनि प्रोत्साहन मिल्ने निश्चित छ । यस विषयलाई लिएर मुलुकका अर्थमन्त्री, गभर्नर लगायतका सरकारी तथा नियमनकारी निकायका जिम्मेवार पदाधिकारीले समेत बधाइ र शुभकामना सहित यस कार्यको प्रशंशा गरेको पाइयो । आगामी दिनमा ठूलो पुँजीको बैंक बने पश्चात् ठूला आयोजनाहरूमा लगानी गर्न पनि नेपाली बैंकका सामर्थता विकास भएकोले धेरैमा खुसी छाएको छ जुन स्वभाविका नै हो । मुलुकको पहिलो निजी क्षेत्रको ठूलो बैंक भए पश्चात् अब ग्लोबल बैंकमा आउने हरेक परिवर्तन र त्यसले लिने उपलब्धिहरू अरुका लागि मार्ग दर्शनको रुपमा स्थापित हुने निश्चित छ । आगामी दिनमा बैंकका सामु थुप्रै चुनौतिहरू छन् ।

बैंकका चुनौतिहरू
कुनै सस्थामा १८ सस्थाको कर्मचारीहरूको फरक कार्यदक्षता, फरक कार्यशैली भएको सन्दर्भबाट एउटै छातामुनी राखेर बैकिङ्ग सेवा प्रदान गर्नु बैंकका लागि चुनौति हुनुसक्छ । दक्ष कर्मचारी क्षमता विकासमा खर्च गर्नुपर्ने रकम खासै खर्च नहुने वर्तमान सन्दर्भलाई परिवर्तन गर्दै सबै कर्मचारीको कार्यशैली बैंकको नीति अनुरुप एकै प्रकारको बनाउनु अत्यवाश्यक हुनेछ ।

त्यसैगरी बैंकको निक्षेप तथा कर्जाको विस्तार गर्दै कारोबारलाई विश्वसनीय बनाउनु पनि जरुरी छ । बैकिङ्ग क्षेत्रमा मुलुकभर शाखा विस्तारले गति लिएको र थुप्रै जनशक्ति यस क्षेत्रमा कार्यरत हुँदाको वर्तमान अवस्थामा बैकिङ्ग क्षेत्रमा कर्मचारीकै मिलोमतोमा हुने विकृति पनि बढदो छ त्यसलाई चिर्नका लागि आकर्षक सुविधा र दक्षता विकास चुनौतिपूर्ण हुने निश्चित छ । बैक तथा वित्तीय सस्थाको प्रमुख कार्यकारीको तलब, भत्ता तथा सुविधा आकर्षक हुने तर तल्लो तहका कर्मचारीहरूको बढी शोषण हुने गरेको गुनासो आइरहेको सन्दर्भमा ठूलो बैंक ग्लाबलले आफ्नो कार्यशैली कस्तो लिन्छ हेर्नुपर्ने हुन्छ ।

बैकिङ्ग क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै लाने कुरा छ । पहिले बैंकमा पित्तलको टोकन लिने चलनबाट कागजको टोकन हुँदै हाल इन्टरनेटको प्रयोग वा अनलाईन तथा मोबाइल बैकिङ्ग सामान्य भइ रहेको छ । तर ठूलो बैंकको हैसियतले मुलुकका दर्गम क्षेत्रका जनता पनि राजधानीकै जस्तो प्रविधि मैत्री सेवा लिन सक्षम छन त ? अनि नयाँ प्रविधि कति सुरक्षित छ सो समेतको हेक्का राख्दै ठाउँ अनुरुपको प्रविधि मैत्री बैंकिङ्ग सेवा उपलब्ध गराउनु पनि बैंकको चुनौति हुने देखिन्छ ।

जनताको साधारण सेयर समेत लगानी भएको बैंकको सबैभन्दा महत्वपूर्ण विषय भनेको बैंकले आगामी दिनमा कति नाफा कमाउँछ र सेयर होल्डरलाई कति प्रतिफल दिन सक्षम हुन्छ सो महत्वपूर्ण हुनेछ । बैंक ठूलो भयो, शाखा धेरै भए, कर्मचारी थुप्रै भए वा कारोबार उच्च भयो भन्ने कुरासँग सेयर लगानीकर्तालाई खासै चासो हुँदैन । लगानीकर्तालाई त उच्च नाफा र उच्च प्रतिफल महत्वपूर्ण हुन्छ । चुक्ता पुँजी नै ठूलो भएको र प्रतिस्प्रर्धी बैंकिङ्ग क्षेत्रमा ठूलो मात्रामा नाफा कमाउँदा समेत प्रतिसेयर आम्दानी चुक्ता पुँजी बढी भएका कारण कम हुने हुनाले उच्च नाफा कमाउनु बैंकको सबैभन्दा ठूलो चुनौति हुने निश्चित छ ।

उच्च नाफा कमाउने दाउमा जोखिमपूर्ण लगानी भयो भने पनि समस्या निम्तन सक्छ । तसर्थ बैंकले सन्तुलनपूर्वक व्यवासायिक जोखिम कम गर्दै नाफालाई भने बढाउन सक्दाको अवस्थामा मात्र अन्य बैंकहरूलाई पनि ठूलो पुँजीको र संरचनाको बैक बन्दा हुदोरहेछ भन्ने सन्देश जान्छ । नत्र ठूलो बैंक हुँदैमा केही हुँदैन भन्ने नकारात्मक सन्देश जानसक्छ जुन सरकार र नियमनकारी निकायको चाहना विपरित हुनसक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार