काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा नेपाल आयल निगम आर्थिक दबाबमा परेको छ।
निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, इन्डियन आयल कर्पोरेसनबाट २०२६ मार्च ३१ ९चैत १७० मा प्राप्त नयाँ मूल्य सूचीका आधारमा आगामी १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
निगमका अनुसार हालको बिक्री मूल्य अधिकांश पेट्रोलियम पदार्थमा लागतभन्दा निकै कम रहेको छ, जसका कारण ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
सबैभन्दा बढी घाटा डिजेलमा देखिएको छ। प्रतिलिटर २९४.९९ रुपैयाँ लागत पर्ने डिजेल २०७ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर ८७।९९ रुपैयाँ घाटा भइरहेको छ।
त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा छ। ग्यासको लागत २,३४१।२५ रुपैयाँ पुग्दा बिक्री मूल्य २,०१० रुपैयाँ मात्र कायम गरिएको छ।
पेट्रोलमा प्रतिलिटर २।३२ रुपैयाँ र मट्टितेलमा ३६।७० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनमा पनि सामान्य घाटा रहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ भने केही नाफा देखिएको छ।
यसैबीच, सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यबारे फैलिएका भ्रामक सूचनाप्रति निगमले ध्यानाकर्षण भएको जनाएको छ। वास्तविक लागत र वित्तीय अवस्थालाई बुझ्न उपभोक्तासँग आग्रह गरिएको छ।
निगमले चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि आपूर्ति व्यवस्था सहज बनाइरहेको दाबी गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेमा सोहीअनुसार समायोजन गरी उपभोक्तालाई राहत दिने जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको अस्थिरता र त्यसबाट परेको आर्थिक भारलाई ध्यानमा राख्दै यथार्थ अवस्थाको सही मूल्याङ्कन गर्न निगमले सरोकारवाला र उपभोक्तासँग अपिल गरेको छ।