काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनलाई निरन्तरता दिँदै आज (बुधबार) पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण तथा अस्पतालमा भएको तोडफोड घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही नगरिएको भन्दै संघले मंगलबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको हो।
आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
काठमाडौं बाहिरका जिल्लामा भने सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने, साथै आ–आफ्नो कार्यस्थलमा धर्ना र विरोध प्रदर्शन गरिने नेपाल चिकित्सक संघले जनाएको छ।
संघले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग पुनः माग गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी पनि संघले दिएको छ।