एजेन्सी । चीनले उत्तर कोरियाली नेता किम जोङ र उनका परिवारलाई कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराएको छ। एकजना अमेरिकी विश्लेषकले दुई जापानिज खुफियालाई उद्धृत गर्दै चीनले उत्तर कोरियाली नेतालाई भ्याक्सिन उपलब्ध गराएको दाबी गरेका हुन्।
उत्तर कोरियाबारे जानकार ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्याक्सिन उपलब्ध गराएको विषय भने खुल्न सकेको छैन। उनका अनुसार सो भ्याक्सिन प्रयोगको नतिजा सकारात्मक वा नकारात्मक के आएको विषयमा पनि थाहा भएको छैन।
किम जोङ उन र उत्तर कोरियाका उच्च पदमा रहेका उनका परिवारका सदस्यलाई कोरोना भाइरसको भ्याक्सिन गत दुईदेखि तीन साता भित्रमा उपलब्ध गराइएको थियो। भ्याक्सिन चीन सरकारले पठाएको थियो, उनले वेभ पोर्टल १९ फोर्टी फाइभमा लेखेका छन्।
अमेरिकी मेडिकल वैज्ञानिक पिटर होटेजका अनुसार कम्तिमा तीन वटा चिनियाँ कम्पनीले अहिले कोरोना भाइरसको भ्याक्सिन बनाइरहेका छन्। जसमा सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिन बायो र सिनोफार्म ग्रुप रहेका छन्।
सिनोफार्मले चीनमा १० लाख मानिसमा आफूले निर्माण गरेको भ्याक्सिनको परीक्षण गरेको जनाएको छ।
चीनका कुनै पनि कम्पनीले तेस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाको विषयमा सार्वजनिक रूपमा सूचना दिएका छैनन्।