काठमाण्डौं । इन्धनको मूल्य लगातार उकालो लागेसँगै सबैतिर मूल्यवृद्धि हुन थालेको छ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाउने निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको हो। यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आउँदो आइतबार प्रकाशित गर्नेछ।
पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार यात्रुबहाक तथा मालबाहक सार्वजनिक गाडीको १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको स्रोत बताउँछन्। मन्त्रालयले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गरिने निर्णय पनि गरेको छ। त्यस्तै हरेक वर्ष चैतमा भाडादर पुनरावललोकन गरेर समायोजन गरिने निर्णय पनि मन्त्रालयले गरेको छ। यसअघि वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो।