के अर्बपति उद्यमी विनोद चौधरीले बजारमा राम्रा मान्छे पाउन छाडेका हुन् ? वा योग्य र दक्ष व्यक्तिले चौधरी र उनको कम्पनीलाई पत्याउन छाडे ? जनता बैंकको डेपुटी सिइओ हुँदा कसुरमा डामिएका अजय मिश्रलाई युनाइटेड फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनायो ।
जसरी बैंक अफ काठमाडौंका सिइओ अजय श्रेष्ठ बैंकिङ कसुरमा परे, उसैगरी मिश्र तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा हुँदा हुँदै नभएको जग्गा धितोमा राखी दुई करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । जनता बैंकबाट विनोद चौधरीको फाइनान्समा सिइओ बन्न पुगेका उनीविरुद्ध उजुरी प¥यो । प्रहरीको वान्टेड सूचीमा परेका उनी फरार भए । सो पदमा आजसम्म पनि कम्पनीले अर्काे व्यक्तिलाई नियुक्ति दिलाउन सकेको छैन । बेवसाइटमा आजसम्म पनि उनलाई सिइओकै रूपमा देख्न पाइन्छ । उनीझैं चौधरीकै रोजाइमा परे यौनकाण्ड लागेका उदयकृष्ण उपाध्याय । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा १५ दिनको घरबिदाबीच फागुनको मध्यजाडोमा कोटेश्वरको एउटा क्याबिनतिर पुगेर रंगिला कर्म गरिरहँदा अहिले एसपी भएर पोखरा खटिएका दानबहादुर कार्कीले रंगेहात भेटेपछि जागिर गयो ।
तिनैलाई चौधरीको अर्काे कम्पनी युनाइटेड इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष र हालै नबिल बैंकको विज्ञ सञ्चालक बनाइएको छ । उनलाई बैंकतिर तानिएपछि इन्स्योरेन्सको अध्यक्ष भरतबन्धु कार्की तोकिएका छन् । नबिल बैंकको सञ्चालक समितिमा शम्भुप्रसाद दाहाल, निर्वाण चौधरी, दयारामगोपाल अग्रवाल, बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, मालाय मुखर्जीसहित हालै मात्र उदयकृष्णले नियुक्ति पाएका हुन् । बाफिया (बैंक तथा वित्त संस्थासम्बन्धी ऐन) मा यस्ता संस्थाको सञ्चालक हुन नैतिक पतन नभएको हुनुपर्ने प्रावधान छ । तर, चौधरीको कम्पनीमा यौनकाण्ड लागेकादेखि बैंकिङ कसुरमा फरार अभियुक्तसम्मले नियुक्ति पड्काउँदासमेत नियामक निकाय राष्ट्रबैंक भने गरुडसामु परेको साँपझैं भएको छ । यो बेथितिप्रति नबिल बैंकका एक कर्मचारीले भने, ‘कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएझैं भयो ।’ यो समाचार बुधबार प्रकाशित जनआस्थामा छापिएको छ ।