काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।
शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका थिए । शनिबार साँझ आएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।