काठमाडौं । अविरल वर्षासँगै आएको आएको बाढीले ३० वटा जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ र निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको इप्पानले जनाएको छ । जलविद्युत कम्पनीहरुमा अर्बौको क्षति भएपछि निर्जीवन बीमा कम्पनीहरुले क्षतिको अध्ययन थालेका छन् । निर्जीवन बीमा कम्पनीहरुले आफुले बीमा गरेका कम्पनीहरुको स्थलगत अध्ययन गरी क्षतिको विवरण संकलन गर्न थालेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी गराएका छन् ।
बीमा कम्पनीका सर्भेयरहरु आयोजना स्थल पुगिसकेका छन् । स्थलगत अध्ययनपछि सर्भेयरहरुले क्षतिको मूल्यांकन गर्नेछ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ समेत रहेका अध्यक्ष क्षेत्रीले भने, सर्भेयरहरुको भ्यालुएसन प्रतिवेदनको आधारमा बीमा दाबी भुक्तानी प्रकृया अघि बढ्छ । ठूलो रकम दाबी भुक्तानी गर्नुपर्दा बीमा कम्पनीहरुमा त्यसको असर पुग्ने उनको भनाई छ । एउटै कम्पनीमा ठुलो रकमको दाबी परेकोले त्यसको पूर्ति गर्न समय लाग्छ, उनले भने । यस्तै इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर बाढीको क्षतिको जानकारी गराउने तयारी समेत गरेको छ ।
विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी १ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । यस्तै उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२।१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी गराए । भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा २ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए । त्यस्तै १४।९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ, ८।५० मेगावाट क्षमताको अप्पर हेवा खोलामा ५० करोड रुपैयाँ बराबरको क्षति इप्पानले जनाएको छ । बाढीका कारण निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ । यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ, ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको छ ।