free website hit counter

जलविद्युतको सेयरमा न्यून प्रतिफल

beemaadmin
२०७६ मंसिर १४, शनिबार

नेपालमा जलविद्युतको राम्रो सम्भावना भएको क्षेत्र भए तापनि सेयर बजारमा त्यस क्षेत्रमा लगानी गरेको साधारण लगानीकर्ताले भने उचित प्रतिफल पाउने अवस्था नहुँदा जलविद्युतको सेयरमा लगानी बालुवा पानी झै बनेको छ । जलविद्युत क्षेत्रको २८ कम्पनीहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रतिवेदनअनुसार केही कम्पनीको मात्र प्रतिसेयर आम्दानी दश रुपियाँभन्दा माथि रहनुले पनि जलविद्युतको क्षेत्रको लगानीमा खासै रुचि सेयर लगानीकर्ता माझ देखिएको छैन । चिलिमे र बुटवल पावरजस्ता पुराना र धेरै प्रतिफल दिनसक्ने कम्पनीलाई छाड्ने हो भने अन्य कम्पनीहरुको खासै प्रगति देखिएको छैन ।

बन्दै गरेको जलविद्युत कम्पनीहरुमा सञ्चालक र त्यसमा हालीमुहाली जमाउने केही व्यक्ति तथा समूहले भने सेयरबाट नभएर अन्य थुप्रै माध्यमबाट आफ्नो लगानी उठाउन सफल भए तापनि सर्वसाधारणको सेयरले भने खासै नाफा कमाउन सकेको छैन । बजार मूल्य कम हुदा जलविद्युतको सेयरबाज पुँजीगत लाभ लिने अवस्था छैन भने कम्पनीले दिने प्रतिफल पनि ज्यादै न्यून छ ।

 

विद्युत विक्रीबाट मात्र आम्दानीको ठूलो स्रोत आउने जलविद्युत क्षेत्रका कम्पनीले आफ्नो सम्पत्ति र भएको पुँजीको सही सदुपयोग गर्न नसकेको कारण पनि राम्रो प्रतिफल दिन असमर्थ देखिएको छ । त्यसैगरी जलविद्युत क्षेत्रमा प्रत्यक्ष नियमनकारी निकायको अभाव रहेको र अप्रत्यक्ष रुपमा फितलो नियमन रहनुले नियमनकारी निकायको भूमिका ज्यादै न्यून रहेको सन्दर्भले पनि पारदर्शिताको कमी पाइनुले पनि जलविद्युतको सेयरमा जनताको आकर्षण कम हुन थालेको हो । निर्माणाधिन जलविद्युत कम्पनीको निर्माण प्रकृयामा भएको आर्थिक क्रृयाकलापको पारदर्शिता र निर्माण भएर सञ्चालनमा रहेका कम्पनीहरुले गर्ने ड्याम सफाइ, मर्मत तथा मेकानिकल मर्मत जस्ता विषयमा कति खर्च लाग्ने हो भन्ने कुराको खासै मापदण्ड पाइदैन । यस्तो अवस्थामा सक्दो बढी खर्च देखाउने कतिपय कम्पनीले नाफा कम देखाउँदा विद्युत विक्रीबाट आएको आम्दानी सबै झै खर्च हुने अवस्थाले सेयर लगानीकर्ताले नाफा पाउन कठिनाइ हुने अनि निश्चित समूह र व्यक्तिले भने कमाउने अवस्था विद्यमान रहेको लगानीकर्ताहरुको गुनासो रहदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जलविद्युत क्षेत्रका २८ कम्पनीको प्रतिवेदनमा प्रतिसेयर आम्दानी निकै कम पाइएको छ । प्रकाशित जलविद्युत क्षेत्रका कम्पनी मध्य दश कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपियाँभन्दा माथि रहेको पाइएको छ । जसमा सानिमा जलविद्युत कम्पनीको सबैभन्दा बढी ३५ रुपियाँ १७ पैसा रहेको छ । पुरानो राम्रो प्रतिफल दिने कम्पनीमा चिलिमे जलविद्युतको १५ रुपियाँ २० पैसा रहेको छ भने अर्को राम्रो प्रतिफल दिने कम्पनी बुटवल पावर कम्पनीको ११ रुपियाँ ३६ पैसा रहेको छ । बुटवल पावरले भने आफ्नो प्रतिसेयर आम्दानी घटनुमा अन्य क्षेत्रमा लगानी भएको र सञ्चितीमा मुद्दती निक्षेपको व्याजमा कमी आएको कारण देखाएको छ जसले भविष्यमा कम्पनीको प्रगति सही दिशातर्फ गएको छ भन्न सकिन्छ । प्रतिसेयर आम्दानी दश रुपियाँभन्दा बढी हुने कम्पनीमा बुटवल पावरको अतिरिक्त अपी पावर मात्र परेको छ ।

त्यसैगरी आठ जलविद्युत कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँभन्दा कम रहेको छ जसमा रिडी जलविद्युत, नेशनल जलविद्युत, अरुणभ्याली, राईराङ, आखुखोला, युनियन, युनिभर्सल र हिमालन ऊर्जा विकास कम्पनी परेका छन् । अन्य जलविद्युतको हकमा त प्रतिशेयर आम्दानी ऋणात्मक देखिएको छ । बरुण, घलेम्दी, जोशी र पञ्चकन्यामाई जलविद्युतको प्रतिवेदन नै सार्वजनिक भएको छैन । समग्रमा जलविद्युत क्षेत्रका कम्पनीमा भएको जनताको लगानीको उचित प्रतिफल पाउने अवस्था देखिदैन । अझ सस्थापक सेयर लिनेहरुको हालत अझै खराब देखिएको छ ।

हकप्रद सेयर हाल्ने बेलामा पैसा थप्नुपर्ने बाध्यता तर उपलब्धी भने न्यून हुनुले समस्या निम्तिएको छ । चर्को व्याजरमा ऋण लिएर जलविद्युत क्षेत्रको सेयर खरिद निकै घातक सावित भएृको छ । सेयर बजारमा कतिपय जलविद्युत कम्पनीको सेयरको बजार मूल्य अंकित मूल्य एक सय रुपियाँभन्दा तल आइसकेको अवस्था छ । हाल नेप्सेमा सुचीकृत ३२ मध्ये २८ कम्पनीको प्रतिवेदन प्रकाशितको चुक्ता पुँजी हेर्दा ४९ अर्बभन्दा बढी रहेको र चार कम्पनीको प्रतिवेदन नआएको अवस्थामा जलविद्युत क्षेत्रमा जनताको ५५ अर्बको हाराहारी लगानी भएको अवस्था हो अहिले ।

 

प्रतिफल न्यून हुनुले जलविद्युतको सेयरमा लगानी गर्ने विषयमा लगानीकर्ता हच्किने अवस्था सिर्जना भएको छ । नेपालको पानीमा जनताको लगानीको उचित प्रतिफल नआउने हो भने त्यसले दीर्घकालिन रुपमा नराम्रो असर पार्ने निश्चित छ । विद्युत प्राधिकरणमा देखिएको सुधार,विद्युत आपूर्ति र बढीभन्दा बढी जनतामा विद्युतको पहुँच विस्तारका साथै विदेशमा समेत विद्युत विक्री गर्ने चर्चा चलिरहदा जनताको लगानीको भने उचित प्रतिफल नआउने अवस्थाको भने अन्त्य हुनुपर्छ ।

सेयर बजारमा जलविद्युत कम्पनीको सेयरको मूल्यमा बृध्दि गराउने जिम्मेवारी अवश्य पनि सरकार र नियमनकारी निकायको होइन । तर जलविद्युत क्षेत्रमा भएको लगानीको उचित प्रतिफल दिने वातावरण निर्माणका लागि विद्युत प्राधिकरणले खरिद गर्ने विद्युतको महसुलको मूल्यमा बृध्दि, प्रत्यक्ष नियमनकारी निकायको व्यवस्था र त्यसले हरके जलविद्युत क्षेत्रका कम्पनीहरुमा कडा रुपमा नियमन गर्दै आर्थिक कृयाकलाप र लगानी पारदर्शी बनाउने हो भने जलविद्युत क्षेत्रका कम्पनीहरुको नाफामा सुधार आउन सक्छ त्यस्तो अवस्थामा जलविद्युत क्षेत्रको सेयरमा भएको लगानीके प्रतिफल पनि उच्च हुने अवस्था निर्माणले भने राहत मिल्ने देखिन्छ । अहिलेकै जस्ता अस्तव्यस्त अवस्था रहने हो भने जलविद्युत क्षेत्रमा भएको लगानीमा आफूहरु ठगिएको महसुस धेरै लगानीकर्ताले गरेको वर्तमान अवस्थाले निरन्तरता पाउने निश्चित छ ।

सम्बन्धित समाचार