काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकिदिएको परिधिभित्र रहेर बीमकहरुले आफ्नो लगानी गर्नुपर्ने हुन्छ । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको लगानी १६.५६ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । गत आवको पहिलो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीको कूल लगानी ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रूपियाँ थियो । चालु आवको पहिलो त्रैमाससम्म आउँदा त्यो बढेर सात खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रूपियाँ पुगेको छ । यद्यपि, कुल लगानीमा ७६.६८ प्रतिशत रकम बैंकहरुको निक्षेपमा रहेको छ । जीवन बीमा कम्पनीहरुले वाणिज्य र पूर्वाधार विकास बैंकमा न्यूनतम ३० प्रतिशत, विकास बैंकमा न्यूनतम १० प्रतिशत र वित्त कम्पनीमा न्यूनतम पाँच प्रतिशतसम्मको अनुपातमा निक्षेप लगानी गर्नैपर्छ । अर्थात् न्यूनतम ४५ प्रतिशत लगानी निक्षेपमा राख्नुपर्छ । तर, बीमा कम्पनीहरुले त्यो भन्दा धेरै अनुपातमा निक्षेपमा लगानी गरेका छन् । बीमा कम्पनी आफैं जोखिमको रक्षावरणको व्यवसाय गर्ने कम्पनी हो । नियमित रुपमा दाबी भुक्तानी दिनुपर्छ । साथै, कहिले काँही ठूलो संख्या र रकममा दावी पनि दिनुपर्ने हुन्छ । त्यो बेला तरलता व्यवस्थापन गर्नका लागि सहज बनाउने हिसावले लगानी गर्नुपर्छ । त्यो अवस्थामा बीमा कम्पनीहरुलाई बैंक निक्षेपमै धेरै लगानी राख्नु उपयुक्त हुन्छ । यद्यपि, व्याजदरमा भएको अस्थिरताका कारण बैकल्पीक क्षेत्रमा पनि जानुपर्ने दवाव छ ।
बीमा कम्पनीहरुले वाणिज्य बैंकमा पाँच खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रूपियाँ, पूर्वाधार विकास बैंकमा सात अर्ब १७ करोड रुपियाँ, विकास बैंकमा ४६ अर्ब ९१ करोड ७८ लाख रूपियाँ र वित्त कम्पनीमा ६ अर्ब ७५ करोड २५ लाख रूपियाँ निक्षेप राखेका छन् । यसरी निक्षेपमा मात्रै कुल ६ खर्ब पाँच अर्ब ७१ करोड ७९ लाख रूपियाँ लगानी भएको छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत नै लगानीको प्रतिफल हो । धेरै लगानी मुद्दती निक्षेपमा भएको अवस्थामा बीमा कम्पनीहरुका लागि व्याज आम्दानी नै मुख्य स्रोत हो । त्यो अवस्थामा बैंकको व्याजदर धेरै हुँदा बीमा कम्पनीहरुले धेरै आम्दानी गर्न सक्छन् । व्याजदर कम हुँदा बीमा कम्पनीहरुको आम्दानी पनि घट्नेछ । अहिले बैंकहरुमा व्याजदर कम हुँदा बीमा कम्पनीहरुको आम्दानी तथा नाफा प्रभावित भइरहेको छ । अहिले तरलता अधिक हुँदा बैंकहरूले व्याजदर घटाइरहेका छन् । त्यसको मर्का बीमा कम्पनीहरुलाई परेको छ । यद्यपि, राष्ट्र बैंकले हालै मौद्रिक नीति समीक्षा गर्दै व्यक्तिगत निक्षेप भन्दा संस्थागत निक्षेपमा १ प्रतिशत विन्दु कम व्याजदर हुनुपर्ने व्यवस्था हटाएको छ, त्यसले आंशिक राहत मिल्ने आशामा बीमा कम्पनीहरु छन् ।
यस्तो छ लगानीको अवस्था
असोजसम्म आउँदा जीवन बीमा कम्पनीहरुले सरकारी बचत तथा ऋण पत्रमा नौ अर्ब ७३ करोड ४८ लाख रूपियाँ लगानी गरेका छन् । गत असारसम्म यस क्षेत्रमा दुई अर्ब ८० करोड ३९ लाख रूपियाँ लगानी थियो । त्योअनुसार यो तीन महिनामा सरकारी ऋणपत्र तथा बचतपत्रमा बीमा कम्पनीहरूले उच्च दरमा लगानी बढाएका छन् । गत आवको पहिलो त्रैमासमा भने यस क्षेत्रमा तीन अर्ब १० करोड ३९ लाख रूपियाँ लगानी थियो । घरजग्गामा ७५ करोड ८१ लाख रुपियाँ, सूचीकृत कम्पनीको साधारण सेयरमा ३७ अर्ब ७१ करोड चार लाख रूपियाँ, बैंकको अग्राधिकार सेयर, बन्ड, डिवेञ्चर र ऋणपत्रमा ७१ अर्ब एक करोड छ लाख रूपियाँ र सुचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख रूपियाँ लगानी भएको छ । यस्तै, कृषि, जलविद्युत् जस्ता सूचीकृतमा ११ अर्ब ६९ करोड ३० लाख रूपियाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा दुई अर्ब ७३ करोड ७० लाख रूपियाँ, नागरिक लगानी कोष र म्यूचल फण्डमा आठ अर्ब ३२ करोड ६६ लाख रूपियाँ, अन्य संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रूपियाँ, सुचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा एक अर्ब ६७ करोड चार लाख रूपियाँ र अन्य लगानी १२ अर्ब ८६ करोड ५२ लाख रूपियाँ रहेको छ ।