काठमाडौं । बल्ल बीमकहरु गाउँ र दूरदराजतिर छिर्न थालेका छन् । बीमा चेतनाको वृद्धिसँगै अब नेपालको कुल जनसंख्याको ४५ प्रतिशत मानिस बीमाको दायरामा पुगेका छन् । सातै प्रदेशमध्ये बागमती प्रदेशमा बीमाको दायरा ५० प्रतिशत भन्दा बढी छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा अपेक्षित रूपमा विस्तार हुन नसकेको देखिएको हो । प्राधिकरणले हरेक प्रदेशमा कार्यालयहरु विस्तार गरेर बीमा सचेतनाका कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ । प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेतापनि अपेक्षित रुपमा दायरा वितार हुन नसकेको हो । हाल सञ्चालनमा आएका जीवन बीमा कम्पनीहरुले एक करोड ३३ लाख ८८ हजार ९८६ वटा बीमालेख जारी गरी १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको बीमा शुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै करिब आधा हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क मध्ये ५१.५५ प्रतिशत बागमतीमा रहेको छ । ९९ लाख ७२ हजार २४९ बीमालेख बिक्री गरि १० अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा १२.६७ प्रतिशत अर्थात दुई अर्ब ४८ करोड ४५ लाख रुपैयाँ, कोशी प्रदेशमा ११।३३ प्रतिशत अर्थात दुई अर्ब २२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साथै, गण्डकी प्रदेश प्रतिशतमा एक अर्ब ८० करोड ४१ लाख रुपैयाँ, मधेशमा एक अर्ब ४९ करोड ३१ लाख रुपैयाँ र सुदरपश्चिम प्रदेशमा ९९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कर्णाली प्रदेशमा सबै भन्दा कम बीमा शुल्क आर्जन भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा एक लाख ६७ हजार ६४४ बीमालेखबाट ५० करोड २७ लाख रुपैयाँ मात्रै आर्जन भएको हो । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २।५६ प्रतिशत मात्रै हुन आउँछ ।