free website hit counter

जेठसम्म निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे चार अर्ब नाघ्यो

beemaadmin
२०८३ असार १२, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ५५ करोड ८३ लाख ४५ हजार रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा लघु निर्जीवन बीमा कम्पनीसहित कुल ३१ लाख ६ हजार ६२२ वटा बीमालेख जारी भएका छन्।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ४१ करोड ८७ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सो अवधिमा २ लाख ७५ हजार ९७० वटा बीमालेख जारी भएका हुन्।

Advertisement
TEST

व्यवसायिक रूपमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीले जेठ मसान्तसम्म २ लाख ९७ हजार ७३४ वटा बीमालेख जारी गर्दै ५६ करोड २६ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४७ करोड ७३ लाख ९२ हजार रुपैयाँ तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४७ करोड ६० लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै शीर्ष तीन कम्पनीभित्र स्थान बनाएका छन्।

समीक्षा अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ। कम्पनीले १४ करोड २५ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ।

यता, पछिल्लो समय सञ्चालनमा आएका लघु निर्जीवन बीमा कम्पनीहरूले पनि बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्। नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्सले संयुक्त रूपमा ११ करोड ९६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

लघु बीमातर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ३ करोड ४० लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै अग्रस्थानमा रहेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ करोड ७३ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ।

प्रदेशगत रूपमा बागमती प्रदेश निर्जीवन बीमा व्यवसायको प्रमुख केन्द्र बनेको छ। यस प्रदेशबाट मात्रै ३ अर्ब १२ करोड १८ लाख ९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल बजारको सबैभन्दा ठूलो हिस्सा हो। विपरीत रूपमा, कर्णाली प्रदेशबाट सबैभन्दा कम ४ करोड ३८ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

बीमा व्यवसायको प्रकृतिअनुसार मोटर बीमा र सम्पत्ति बीमाले अझै पनि सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्। यसले नेपालमा निर्जीवन बीमा बजार मुख्यतः सवारीसाधन र सम्पत्ति सुरक्षामै केन्द्रित रहेको संकेत गर्दछ।

सम्बन्धित समाचार