free website hit counter

जेनजी आन्दोलनको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीमा

beemaadmin
२०८२ मंसिर ५, शुक्रबार

काठमाडौं । जेनजी आन्दोलनले ७६ जनाले ज्यान गुमाए, कैयौं अंगभंग भए भने थुप्रै अझै अस्पतालको शैयामा छन् । आन्दोलनको असर यतिमा मात्रै सीमित छैन । मुलुकलाई दश वर्ष पछाडि धकेल्ने काम भएको छ भने अर्थतन्त्र झन झन डामाडोल हुँदै गइरहेको छ । गत भदौको जेनजी आन्दोलन र असोज महिनामा गएको बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक देखिएको हो । पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मात्रै नाफामा गएको छ । नेशनल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी १८ करोड ३ लाख रुपैयाँले घाटामा थियो । प्रभु इन्स्योरेन्सले असोज मसान्तसम्ममा ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत जेनजी आन्दोलनको क्रममा भएको क्षतिको सबैभन्दा धेरै दाबी परेको सिद्धार्थ प्रिमियरको असोज मसान्तसम्ममा नाफा २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोनबाट सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको छ । त्यस्तै, असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षाको कारण भएको क्षतिको ५० करोड ९४ लाख रुपैयाँ दाबी परेको छ । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दोस्रो धेरै दाबी परेको द ओरियन्टलको पहिलो त्रैमासमा नाफा २८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो । उक्त कम्पनीको जेनजी आन्दोलनको मात्रै ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा र बाढीको २१ करोड ४३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, तेस्रो धेरै जेनजी आन्दोलनको दाबी परेको सिद्धार्थ प्रिमियरको पहिलो त्रैमासमा नाफा २० करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । असोजसम्ममा शिखर इन्स्योरेन्सको नाफा १५ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी ११ करोड ५२ लाख रुपैयाँ ऋणात्मक थियो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सलिकोले अघिल्लो आवको यही अवधिमा ८ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सलिकोपछि नेको इन्स्योरेन्सको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवको यही अवधिमा नेकोले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हिमालय एभरेष्ट इन्स्यारेन्सको १० करोड ९३ लाख रुपैयाँ, सानिमा जिआइसीको २० करोड २ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ९ करोड ९५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ बराबरको नाफा ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा हिमालयन एभरेष्टले ६ करोड ६१ लाख रुपैयाँ, सानिमा जिआइसीले ५ करोड ८ लाख रुपैयाँ, एनएलजीले ४ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार