काठमाडौं । ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०।५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित २,२१,०५,२३० (अक्षरेपी दुई करोड एक्काइस लाख पाँच हजार दुई सय तीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ज्योति विकास बैंक बाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले ६३.५९ लाख रूपैयाँको आयकर तथा ३.७२ लाख बराबर अन्य कर गरी जम्मा ६७.३१ लाख रूपैयाँ कर मार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको जनाएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।