काठमाडौं । सुन अब सामान्य नागरिकको पहुँच भन्दा बाहिर पुगेको छ । व्यापक मात्रामा सुन खरिद गरेर अमेरिकी डलरलाई कमजोर बनाउने ब्रिक्सको रणनीति सफल बन्दै गएको देखिएको छ । डलर चार बर्षयताकै सबैभन्दा कमजोर बनेको छ । भारतीय मुद्रासँगको नेपालको स्थिर विनिमय दरका कारण डलरमा आएको गिरावट नदेखिए पनि अन्तर्राष्ट्रिय बजारमा भने कमजोर बनेको छ । व्यापार तथा सामरिक क्षेत्रमा अमेरिकी दादागिरि बढ्दै गएपछि त्यसलाई ‘काउन्टर’ गर्न चीन, अमेरिका, भारत, ब्राजिल, दक्षिण अफ्रिका मिलेर ‘ब्रिक्स’ गठन गरिएको थियो । ब्रिक्सको एक लक्ष्य भनेको अमेरिकी डलरको सट्टा अर्को मुद्रा प्रचलनमा ल्याउनु पनि हो जसका लागि डलरलाई कमजोर नबनाएसम्म सहज हुँदैन । रणनीतिकरुपमा ब्रिक्स राष्ट्रहरुले सुन सञ्चय बढाएर डलरलाई कमजोर बनाउन लागेको देखेपछि अमेरिकाले समेत अहिले त्यसबाट जोगिन ठूलो परिमाणमा सुन खरिद गरेको छ । यद्यपि त्यसले डलरको अबमूल्यनलाई कम गर्न प्रभावकारी भूमिका खेल्न सकेको छैन । गत वर्ष अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय व्यापारमा नाटकीय रूपमा करका नयाँ दरहरू घोषणा गरेपछि अमेरिकी डलरको अन्तर्राष्ट्रिय सटही दर खस्किएको देखिएको छ । विश्लेषकहरूले डलरको भाउमा धेरै उतारचढाव नहुने अपेक्षा गरे पनि अनुमानभन्दा धेरै कमजोर भएको छ । धेरै देशका मुद्राहरूको तुलनामा डलरको सटही दर चार वर्षकै सबैभन्दा कम भएको छ । एक सातामै डलर तीन प्रतिशतले खस्कँदा यूरो र पाउन्डको तुलनामा पनि यसको सटही दर केही वर्षकै न्यून बिन्दुमा पुगेको छ । यो गिरावट आगामी दिनमा अझ बढ्ने देखिन्छ । किनभने सुन र चाँदीको माग उच्चदरले बढ्दै गएको छ । माग बढ्दा यसको भाउ पनि अस्वाभाविकरुपमा बढेको देखिन्छ । सुनको भाउ बढेपछि डलरको भाउ स्वाभाविकरुपमा घट्नपुग्छ । धेरै मानिसहरूले यो वर्ष डलर अझै कमजोर हुने वा हुनसक्ने ठानेका छन् । बीबीसीका अनुसा आईएनजीका अर्थ बजार अनुसन्धान प्रमुख क्रिस टर्नर भन्छन्, समयको मात्र टुङ्गो नलागेको हो तर त्यो बाटोमा जाने कुरामा चाहिँ खासै द्विविधा छैन । डलर कमजोर हुँदै गएपछि अमेरिकीहरूको क्रय शक्ति घट्दै जानेछ भने अमेरिका र अमेरिकी अर्थतन्त्रप्रतिको विश्वभरको आकर्षण पनि कम हुँदै जानेछ । यसले अमेरिकी अर्थतन्त्रमा महंगी बढाउने, त्यसले आम उपभोक्तामा असन्तुष्टि बढाउने र देश राजनीति तथा सामाजिकरुपमा अस्थिर हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी डलर कमजोर हुन थालेसँगै अमेरिकीहरूले आयातित सामग्रीमा उच्च मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यसको असर सस्तोमा ऋण पाउँदै आएका अमेरिकीहरुले अब नपाउनसक्ने अवस्था सुरु हुनेछ । अन्तर्राष्ट्रिय प्रचलनको मुद्रा भएकाले विश्वका अधिकांश देशहरुले संचित गर्दै आएको अमेरिकी डलर संचित गर्न छोडेमा अमेरिकी अर्थतन्त्रमा नै कम्पन सुरु हुने अडकल गर्न थालिएको छ । खासगरी अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा लिँदै आएको नीतिप्रति अरु शक्ति राष्ट्रहरु खुशी छैनन् र सशंकित हुँदै आएका छन् । अमेरिकी एकाधिकार नीतिप्रति चीन, रुस, भारतसहितका देशहरुले असन्तुष्टिका संकेतहरु दिँदै आएका छन् । पछिल्लो पटक भेनेजुयलामाथिको हस्तक्षेप र यो महिना ग्रीनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव बढेसँगै अमेरिकी डलरको मूल्य थप खस्किएको छ । अमेरिकाले चाल्न सक्ने कुनै कदमले डलरलाई अझ कमजोर बनाउन सक्ने आकलनले पनि डलर कमजोर बनेको छ । जापानी मुद्रा ुयेनुलाई माथि उकास्न जापानलाई डलर बेच्ने जस्ता अनुमानले पनि यसमा काम गरेको छ। विश्लेषकहरूले डलरको गिरावटमा ट्रम्प प्रशासनको गलत नीतिको नजिता भन्दै अमेरिकामा विपक्षी र कतिपय विश्लेषकहरुले आलोचना गर्न थालेका छन् । ब्रुकिङ्ग्स इन्स्टिट्यूशनका वरिष्ठ फेलो र गोल्डम्यान स्याक्सका पूर्व विदेशी मुद्रा सटही रणनीतिकार रोबिन ब्रुक्स भन्छन्, मेरो विचारमा वृद्धि वा गिरावट दुवै यो प्रशासनले लिएका अनिश्चित नीतिबारे बजारले दिइरहेको प्रतिक्रिया हो । उनले करका दर र ग्रीनल्यान्डको विषयसँगै डलर खस्किएको बताएको बीबीसीले उलेख गरेको छ । तर मुल कारण भनेको ब्रिक्सको रणनीतिले नै बढी काम गरेको देखिन्छ । ट्रम्पको नीति पनि ब्रिक्स राष्ट्रहरुको व्यापारिक रणनीतिलाई विभिन्न ढंगले कमजोर बनाउने कुराबाट निर्देशित जस्तो देखिन्छ ।