free website hit counter

तीनकुने घटनामा ३३ लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०८२ बैशाख ६, शनिबार

काठमाडौं । जोखिम हस्तान्तरणकै लागि हो बीमा गर्ने । जतिबेला क्षति हुन्छ त्यतिबेला सम्पत्तिको सुरक्षा बीमाले गर्दछ । राजावादीहरुले मच्चाएको हिंसाबाट पीडित बनेकाहरु बीमाको परिधिभित्र रहेकाहरुले क्षतिको भरताल पाउन थालेका छन् । चैत १५ गते काठमाडौं उपत्यकाको तीनकुने घटनामा भएको क्षतिमा हाल सम्म चार बीमा कम्पनीहरूले ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको १३ वटा भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बैशाख ३ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हालसम्म कम्पनीहरूले कुल ४ करोड ५९ लाख ६२ हजार ७२१ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। वैशाख ३ गतेसम्म कम्पनीहरूमा हुलदङ्गाबाट भएको क्षतिमा ५० वटा दाबी परेका छन्। हालसम्म कम्पनीहरूले १३ वटा दाबीको ३३ लाख ३५ हजार ८५३ रुपैयाँ भुक्तानी गरिसकेका छन्। हालसम्म १२ वटा निर्जीवन बीमकमा सम्पत्ति बीमातर्फ २१ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरूले कुल २ करोड ७८ लाख ८७ हजार ६१४ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरूले सम्पत्ति बीमातर्फ ८ वटा दाबीको ३२ लाख ४२ हजार ३४१ रुपैयाँ भुक्तानी गरिसकेका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा कुल ७६ लाख ७० हजार रुपैयाँ बराबरको ८ वटा मात्रै दाबी पेश भएको थियो । जसमा २६ लाख ७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ ।त्यस्तै, शिखर इन्स्योरेन्सले सबै दाबी भुक्तानी दिएको छ । कम्पनीमा कुल ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको ५ वटा मात्रै दाबी पेश भएको थियो । सगरमाथा लुम्बिनीले ७५ लाख ४९ हजार रुपैयाँ बराबरको ७ वटा दाबी पेश भएकोमा २ लाख २ हजार भुक्तानी दिएको छ । आइजीआई प्रुडेन्सियलले १७ लाख ३८ हजार रुपैयाँ बराबरको ६ वटा दाबी पेश भएकोमा २८ हजार ३०० रुपैयाँ भुक्तानी दिएको छ ।
कम्पनीहरूले ८ वटा सम्पत्ति बीमालेख अन्तर्गतका ३२ लाख ४२ हजार, मोटर बीमा निजीतर्फ ९२ हजार र विविध अन्तर्गत १ हजार १३० रुपैयाँ भुक्तानी दिएका हुन् । यसैगरी दोस्रो धेरै दाबी मोटर बीमा निजीतर्फ परेको छ। कम्पनीहरूमा मोटर बीमा निजी तर्फ २२ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरूले १ करोड ६ लाख २३ हजार ९७७ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरूले ४ वटा दाबीको ९२ हजार ३८२ रुपैयाँ भुक्तानी गरेका छन्। हालसम्म हुलदङ्गाबाट भएको क्षतिमा इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३ वटा दाबीको कम्पनीहरूले ३७ लाख रुपैयाँ, मोटर बीमा सार्वजनिकतर्फ २ वटा दाबीको २७ लाख ५० हजार रुपैयाँ र विविध बीमातर्फ २ वटा दाबीको १० लाख १ हजार १३० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ। विविधतर्फ कम्पनीले एउटा दाबीको १ हजार १३० रुपैयाँ भुक्तानी गरिसकेको छ।

सम्बन्धित समाचार