free website hit counter

त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु

beemaadmin
२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको ज्यान गएको छ। दुर्घटनाको समयमा बसमा करिब ४६ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। बस सडकबाट झन्डै ३ सय मिटर तल नदीमा खसेको हो। घटनास्थलमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार यात्रुहरूको खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। उद्धार टोलीले डुंगाको प्रयोग गरेर घाइते तथा अन्य यात्रुलाई नदी किनारमा ल्याइरहेको छ। त्यसपछि एम्बुलेन्समार्फत् उनीहरूलाई नजिकका अस्पतालतर्फ पठाउने काम भइरहेको बताइएको छ। राति नै गोताखोर टोलीले केही घाइतेको उद्धार गर्न सफल भएको छ। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका संयुक्त टोलीहरू परिचालित छन्। प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि घटनास्थलमा पुगेको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली खटिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ। मृतक र घाइतेहरूको सनाखत गर्ने काम भने अझै हुन सकेको छैन। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या थप हुन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार