एजेन्सी । पानी बाराबारको अवस्थामा रहेका दुई छिमेकी उत्तर कोरिया र दक्षिण कोरियबीच ऐतिहासिक सहमति भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तर कोरिया, दक्षिण कोरिया, चीन र अमेरिका कोरियाली युद्धलाई औपचारिक रुपले अन्त्य गरिएको घोषणा गर्नको लागि सैद्धान्तिक रुपले सहमत भएको बताएका छन् ।
यद्यपि उनले उत्तर कोरियाका मागहरुका कारण छलफल सुरु हुन अझै बाँकी रहेको पनि स्पष्ट पारेका छन् । कोरियाली युद्ध १९५० देखि १९५३ सम्म चलेको थियो । यो युद्ध कुनै शान्ति सम्झौताबाट नभइ युद्धबिरामको घोषणाबाट समाप्त भएको थियो । प्राविधिक रुपले उत्तर कोरिया र दक्षिण कोरियाबीच अहिले पनि युद्ध चलिरहेको छ । अहिले पनि उत्तर कोरियालाई चीनको समर्थन छ र दक्षिण कोरियालाई अमेरिकाको समर्थन छ । दुवै देशबीच तनावपूर्ण सम्बन्ध कायमै छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन अहिले अस्ट्रेलिया भ्रमणमा छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग एक साझा पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन् ।