free website hit counter

दुई सचिवको दरबन्दी र मन्त्रालयको दर्द

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । एउटै मन्त्रालयमा दुई सचिव हुँदाको सकस व्यहोरेको सरकारले विस्तारै एउटै सचिव कायम गर्न खोजे पनि व्यवहारिक रुपमा कार्यान्वयन आएको छैन । दुईवटा सचिव एउटै मन्त्रालयमा हुँदा द्वन्द्व बढ्नुका साथै काम गर्न पनि असहज भएको, कर्मचारीबीच गुटबन्दी सिर्जना हुने गरेको, कुनसचिवसँग को नजिक हुने र मन्त्रीसँग कुन सचिव नजिक हुने प्रतिस्पर्धाले गर्दा कार्य सम्पादनमा समेत गम्भीर असर देखिन थालेपछि संघीयता कार्यान्वयनपछि दुई सचिवको दरबन्दी कटौती गरिएको थियो भने केहीमा भने बाँकी नै थिए । ती बाँकी रहेका मन्त्रालयहरुमा पनि क्रमशः त्यहाँ कार्यरत सचिवको अवकाशसँगै स्वतः दरबन्दी खारेज भई एउटामा सीमित हुने भनिए पनि सरकारले उक्त नीतिलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि लामो समयदेखि यही समस्या कायम छ । त्यहाँ दुई जना सचिव विगतमा स्वास्थ्य सेवाकै रहने प्रावधान रहे पनि केही समयअघि मात्र एउटा दरबन्दी प्रशासनको र एउटा स्वास्थ्यको रहने व्यवस्था गरियो । जसअनुसार अहिले प्रशासनतर्फ खगराज बराल कार्यरत छन् भने स्वास्थ्यको दरबन्दी रिक्त छ । उक्त रिक्त दरबन्दीमा नयाँ सचिव नियुक्तिका लागि तयारी भइरहेको बताइन्छ । त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय विगतमा पनि बेग्ला बेग्लै अस्तित्वमा रहे पनि संघीयता कार्यान्वयनसँगै तीनवटै मन्त्रालय एउटामा गाभिएपछि दुईवटा सचिव कार्यरत छन् । पटक पटक बाणिज्य सचिव सरुवा भए पनि उक्त दरबन्दी कटौतीमा परेको छैन ।

अहिले उद्योगतर्फ यमकुमारी खतिवडा र बाणिज्य तथा आपूर्तितर्फ डा. वैकुण्ठ अर्याल कार्यरत छन् । दुई सचिव हुँदा मन्त्रीसँगै टकराव हुन पुगेको, सचिव सचिव बीच बोलचाल नै बन्द भएका घटनाहरु पनि नभएका होइनन् । यही समस्या व्यहोरेको थियो कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले । गत माघ २९ गतेदेखि स्वेच्छिक अवकाश रोजेका कृषिसचिव डा. युवकध्वज जिसी र पशुपंक्षी विकास तर्फका सचिव डा. प्रकाश माथेमाबीच बोलचाल नै बन्द भएको घटना अझै पनि कृषि मन्त्रालयका कर्मचारीको दिमागमा ताजै छ ।

घमण्डी स्वाभावका जिसी आफूलाई आफूलाई सबै विषयका ज्ञाता सम्झने र नीति नियम बनाउने मन्त्री र बाँकी कर्मचारीहरुलाई केही थाहा नभएको जस्तो व्यवहार गर्ने स्वाभावकै कारण उनीसँग मन्त्री र मन्त्रालयका उच्च तहका कर्मचारीबीच मनमुटाव हुनु सामान्य जस्तै भएको थियो । यही पीडा व्यहोरका कर्मचारीहरु अहिले मन्त्रालयमा एउटै मात्र सचिव राखिदिए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । तर बढुवाको तयारीमा रहेका कर्मचारीहरु दरबन्दी कायमै राख्नुपर्ने पक्षमा छन् ।

अन्य मन्त्रालयमा रहेका दुई सचिवको दरबन्दी यथावत रहने तर कृषिको दरबन्दी मात्रै किन काट्ने ? भन्ने प्रश्न समेत उब्जिएको छ । लामो समय दुई सचिवको झमेला व्यहोरेको भौतिक योजना तथा यातायात मन्त्रालयले अहिले भने त्यो समस्याबाट मुक्त छ । अहिले त्यहाँ एउटै सचिव मात्र कार्यरत रहँदा मन्त्रालयको कार्यसम्पादन विगतको भन्दा राम्रो देखिन्छ । ऊर्जा तथा सिञ्चाई मन्त्रालय एउटै भएपछि त्यहाँ पनि दुई सचिव कार्यरत छन् । ऊर्जामा दिनेशकुमार घिमिरे र सिञ्चाईमा रविन्द्रनाथ श्रेष्ठ छन् ।

त्यहाँ पनि ऊर्जाले सिञ्चाईलाई अपहेलित गरेको भन्ने गुनासो कर्मचारी वृत्तमा छ । मन्त्री समेत ऊर्जा तर्फ नै ढल्केको आरोप लागेको छ । त्यस्तै अर्थमन्त्रालयमा विगत लामै समयदेखि दुई सचिव भए पनि त्यहाँ भने खासै विवाद छैन । दुवै सचिवलाई स्पष्ट रुपमै कार्य विभाजन गरिदिएका कारणले पनि त्यहाँ विवाद भएको र दुई सचिवको आवश्यकता देखिएको हो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा पनि दुई सचिव हुँदा एउटा सचिव (शिक्षातर्फ) लाई अत्यधिक कामको बोझ छ भने विज्ञान प्रविधि सचिव भने थन्काउने ठाउँ बनेको छ । शिक्षा सचिवको रुपमा महेश्वर दाहाल कार्यरत छन् भने विज्ञान सचिवमा रुपमा डा. सञ्जय शर्मा कार्यरत छन् । धेरैलाई त्यहाँ दाहाल मात्रै सचिव रहेको आभाष हुने गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार