काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार देउवा दम्पतीको पक्षमा अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई पक्राउ नगर्न निर्देशन दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा देउवा दम्पतीविरुद्ध २०८२ चैत १४ गते पक्राउ पुर्जी जारी गरिएको थियो। तर सर्वोच्च अदालतले उक्त प्रक्रियामाथि प्रश्न उठाउँदै पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर गरेको छ।
अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएका मुद्दाको सुनुवाइ गर्ने अधिकार विशेष अदालतमा रहेको उल्लेख गर्दै अध्यादेश जारी हुनुअघि काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कानुनी रूपमा कायम नरहने निष्कर्ष निकालेको हो।
देउवा दम्पतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत रेड नोटिस जारी गर्ने तयारीका लागि नेपाल प्रहरीले थप कागजात पठाउने प्रक्रिया अघि बढाइरहेका बेला सर्वोच्चको यो आदेश आएको छ।
सर्वोच्चको आदेशसँगै देउवा दम्पतीविरुद्धको पक्राउ प्रक्रिया तत्कालका लागि रोकिएको छ भने मुद्दाको थप कानुनी प्रक्रिया आगामी सुनुवाइबाट तय हुने भएको छ।