काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम म्याद सोमबार साँझ ५ बजेसम्म उक्त सङ्ख्यामा आवेदन परेको हो।
अध्यक्ष सिफारिसका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गरेका छन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका लब्धप्रतिष्ठित व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था छ।
त्यसैगरी, उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको, उच्च नैतिक चरित्र भएको र सम्बन्धित क्षेत्रमा पेशागत अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
आवेदन परेकामध्ये सिफारिस समितिले तीन जनाको नाम नेपाल सरकार मन्त्रीपरिषद् मा पठाउनेछ। सो सूचीबाट सरकारले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ।
सेबोनका पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले राजीनामा दिएपछि उक्त पद हाल रिक्त रहेको छ।