free website hit counter

नयाँ अर्थमन्त्रीसँगका अपेक्षा

beemaadmin
२०७९ चैत्र १८, शनिबार

काठमाडौं । एउटा व्यक्तिको प्रवेशले लथालिङ्ग बनेको विश्व अर्थतन्त्रका अगाडि नेपाली अर्थतन्त्रमा स्वाट्टै सुधारको अपेक्षा गर्न नसकिए पनि समस्याहरु पन्छाउँदै मुलुकलाई सही मार्गसम्म ल्याउने अपेक्षा गर्न सकिन्छ । मुलुकको अर्थतन्त्र सुधार गर्न सकिएन भने आर्थिक संकट निम्तिने खतरा छ । यही परिस्थितिका मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । अर्थमन्त्रीमा नियुक्त डा प्रकाशशरण महत अर्थतन्त्रको स्वास्थ्य बिग्रदै गएको बेला अर्थमन्त्रालयको नेतृत्व सम्हान आइपुगेका छन् । गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनपछि दोस्रो अर्थमन्त्रीका रुपमा महत नियुक्त भएका हुन् । यसअघि नेकपा एमालेका नेता विष्णु पौडेल पुस ११ गते अर्थमन्त्री नियुक्त भई फागुन १५ गते बाहिरिएका थिए । एक महिना दुई दिन मन्त्रीविहीन रह्यो अर्थमन्त्रालय । अर्थमन्त्रालयको जिम्मेवारी प्रधामन्त्री पुष्पकमल दाहालले लिए पनि मन्त्रालयका तर्फबाट हुने धेरै काम प्रभावित हुँदै आएका थिए । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्यालेन्डर नै प्रभावित हुने अवस्था भइसकेका बेला महत मन्त्रालको कमाण्ड सम्हान आइपुगेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको ७ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखाए पनि अर्थशास्त्रीहरु अर्थतन्त्रको स्वास्थ्य त्यति राम्रो देखिरहेका छैनन् । महालेखा नियन्त्रण कार्यालयले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आवको आठ महिना अर्थात फागुन मसान्तसम्मको अवस्थालाई हेर्दा सरकारको बजेट घाटा रु. १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ ।
फागुन मसान्तसम्म सरकारले रु। ७ अर्ब ७९ अर्ब २३ करोड बराबरको बजेट खर्च गर्दा राजश्व संकलन भने रु। ६ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ मात्रै छ । राजश्व संकलन र बजेट खर्चको विवरण अनुसार सरकारको आम्दानी भन्दा खर्च बढी देखिन्छ । यो भनेको मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा छैन् भन्ने नै हो । अर्कोतर्फ यही बेलामा लघुवित्त र सहकारीले ज्यादती गरेको र बैंकहरुले ऋणमा चर्को ब्याज लिएको भन्दै आन्दोलन चर्किएको छ । मिटर ब्याज पीडितहरु न्याय माग्न राजधानी नै आइपुगेका छन् । आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय नहुँदा उद्योगी व्यापारी निराश छन् । मुलुकको प्रतिकुल अवस्थाले गर्दा युवाहरु विदेशिने क्रम झन बढेर गएको छ । शेयर बजारमा सुधार आउन सकेको छैन् । घरजग्गाको कारोबार ठप्प जस्तै छ । राजश्व लक्ष्यभन्दा निकै कम उठ्दा धेरैतिर असर देखिन थालेको छ । पर्यटन क्षेत्रमा पनि त्यस्तै निराश देखिन्छ । अर्थमन्त्री भएर पदबहाली गर्दै गर्दा महतले चोरी निकासी नियन्त्रण गर्न पहल गर्ने र राजश्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताए । उनले भने अनुसार नै फिल्डमा काम भयो भने अर्थतन्त्र सुधारिन सक्दछ । तर अर्थमन्त्रीले भने अनुसार भइहाल्छ भन्ने परिस्थिति अहिले देखिन्न । विगतमा पनि मन्त्री भएर अनुभव हासिल गरिसकेका महतलाई मन्त्रालय चलाउने कुरा नयाँ होइन् । तर उनले अर्थमन्त्रालय सम्हालेको भने पहिलो पटक हो । विगतमा उनकै सहोदर दाजु डा। रामशरण महतले पटकपटक अर्थमन्त्रालय नेतृत्व सम्हालेका थिए । दाजुभाई नै भए पनि उनीहरु पार्टीभित्र फरक फरक खेमाका हुन् ।

सम्बन्धित समाचार