काठमाडौं । मुलुकको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको अवस्थामा पनि जीवन बीमा उद्योगले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख नवीकरणमार्फत १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै बीमाप्रति नागरिकको विश्वास अझै बलियो रहेको संकेत दिएका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँको तुलनामा ९.३६ प्रतिशत बढी हो। नयाँ व्यवसाय विस्तार चुनौतीपूर्ण बनेको समयमा पनि विद्यमान बीमितहरूले बीमालेख नवीकरणलाई निरन्तरता दिएकाले उद्योगको दीर्घकालीन स्थायित्वमा सकारात्मक संकेत देखिएको विश्लेषण गरिएको छ।
नवीकरण बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स लगातार अग्रस्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्ष ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.८९ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दै ८.३१ प्रतिशत वृद्धि हासिल गरेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दै ४.७९ प्रतिशत वृद्धि कायम गरेको छ।
अन्य प्रमुख कम्पनीहरूमध्ये हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ तथा मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
वृद्धिदरका आधारमा भने केही कम्पनीले उल्लेखनीय प्रगति गरेका छन्। आईएमई लाइफले नवीकरण बीमाशुल्कमा २५.७६ प्रतिशतको उच्च वृद्धि हासिल गर्दै ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ। सिटिजन लाइफको नवीकरण बीमाशुल्क १७.५८ प्रतिशत, रिलायबल नेपाल लाइफको १७.४३ प्रतिशत, सन नेपाल लाइफको १६.४१ प्रतिशत, सानिमा रिलायन्स लाइफको १५.८५ प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको १५.४६ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
बीमा क्षेत्रका जानकारहरूका अनुसार नवीकरण बीमाशुल्कमा भएको निरन्तर वृद्धि केवल कम्पनीहरूको आम्दानी वृद्धि मात्र होइन, बीमितहरूले आफ्नो दीर्घकालीन वित्तीय सुरक्षा र जोखिम व्यवस्थापनप्रति देखाएको विश्वासको संकेत पनि हो। नयाँ व्यवसायको गति अपेक्षाकृत सुस्त भए पनि नवीकरण व्यवसायमा देखिएको स्थिर वृद्धिले जीवन बीमा उद्योगको आधार अझ मजबुत बन्दै गएको देखाएको छ।