free website hit counter

निर्जीवन बीमकले गरे साढे ३० अर्बको दाबी भुक्तानी

beemaadmin
२०८३ भाद्र ६, शनिबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। हालै सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमकले गरेको यो दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा २१.१६ प्रतिशत बढी हो।

आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमकहरूले कुल २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। एक वर्षमै दाबी भुक्तानी रकम ५ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीले बढेको देखिन्छ।

दाबी भुक्तानी बढे पनि विभिन्न कम्पनीमा ठूलो संख्यामा दाबी फर्छ्योट हुन बाँकी रहेको तथ्यांकले देखाउँछ। यसले निर्जीवन बीमा व्यवसायमा दाबीको चाप बढिरहेको र समयमै दाबी फर्छ्योट गर्नु कम्पनीहरूका लागि प्रमुख चुनौती बन्दै गएको संकेत गर्छ।

सगरमाथा लुम्बिनीको दाबी भुक्तानी सबैभन्दा धेरै

गत आर्थिक वर्षमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीले ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँको तुलनामा यसको दाबी भुक्तानी ३६.९२ प्रतिशतले बढेको हो।

दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले समीक्षा वर्षमा ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको ३ अर्ब २ करोड ७९ लाख रुपैयाँको तुलनामा यो ३१.३० प्रतिशत बढी हो।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीको दाबी भुक्तानी अघिल्लो वर्षको तुलनामा २७.५३ प्रतिशतले बढेको छ।

सानिमा जीआईसीको दाबी भुक्तानी वृद्धिदर सबैभन्दा उच्च

प्रतिशतका आधारमा भने सानिमा जीआईसी इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको दाबी भुक्तानी ५४.४४ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

यसैगरी, आईजीआई प्रुडेन्सियलको दाबी भुक्तानी ८.९४ प्रतिशत, युनाइटेड अजोडको ६.६१ प्रतिशत, ओरिएन्टलको ३.९५ प्रतिशत, प्रभुको १०.०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.७५ प्रतिशतले घटेको छ।

दाबी भुक्तानी बढ्नु सकारात्मक, तर बाँकी दाबी चुनौती

समग्रमा निर्जीवन बीमकहरूको दाबी भुक्तानीमा उल्लेख्य वृद्धि हुनु बीमितलाई दायित्व फर्छ्योट गर्ने क्षमता बढेको संकेत हो। तर, अर्कोतर्फ एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहेको तथ्यांकसँगै दाबी भुक्तानीको रकम बढ्नुले व्यवसायमा दाबीको चापसमेत बढिरहेको देखाउँछ।

सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १० लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।

यसकारण निर्जीवन बीमा व्यवसायको वास्तविक स्वास्थ्य मूल्यांकन गर्दा दाबी भुक्तानीको कुल रकमसँगै दाबी फर्छ्योटको गति, बाँकी दाबीको संख्या र बीमितले भुक्तानी पाउन लाग्ने समयलाई समेत महत्वपूर्ण सूचकका रूपमा हेर्नुपर्ने देखिन्छ।

सम्बन्धित समाचार