free website hit counter

निर्जीवन बीमा कम्पनीको कर्मचारी खर्च ५ अर्ब ५५ करोडभन्दा बढी

beemaadmin
२०८३ भाद्र १, सोमबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब तथा भत्तामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले कर्मचारीको तलब तथा भत्तामा उक्त रकम खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो खर्च १.१९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरूले कर्मचारी तलबभत्तामा ५ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ खर्च गरेका थिए।

सिद्धार्थ प्रिमियरको कर्मचारी खर्च सबैभन्दा बढी

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीको तलब तथा भत्तामा सबैभन्दा बढी खर्च गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ।

समीक्षा वर्षमा कम्पनीले कर्मचारीको तलबभत्तामा ६८ करोड ६४ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले कर्मचारी तलबभत्तामा ६३ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै, शिखर इन्स्योरेन्स ६२ करोड ३१ लाख ७५ हजार रुपैयाँ कर्मचारी खर्चसहित दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्षको ६१ करोड ३९ लाख रुपैयाँको तुलनामा कम्पनीको यस्तो खर्च १.३३ प्रतिशतले मात्र बढेको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारीको तलब तथा भत्तामा ५५ करोड ३३ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ। यद्यपि कम्पनीको यस्तो खर्च अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले यस शीर्षकमा ५६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो।

ओरियन्टलको कर्मचारी खर्च सबैभन्दा तीव्र बढ्यो

प्रतिशतका आधारमा कर्मचारीको तलब तथा भत्तामा सबैभन्दा ठूलो वृद्धि ओरियन्टल इन्स्योरेन्सको देखिएको छ।

कम्पनीको कर्मचारी खर्च ७१.५८ प्रतिशतले बढेर २६ करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ओरियन्टलले कर्मचारीको तलब तथा भत्तामा १५ करोड ५३ लाख रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्षमा कर्मचारी तलबभत्तामा ५२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको ४३ करोड ५७ लाख रुपैयाँको तुलनामा कम्पनीको यस्तो खर्च २०.८५ प्रतिशतले बढेको हो।

यसैगरी, नेको इन्स्योरेन्सले ४९ करोड ८० लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४१ करोड ३९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ३४ करोड ९४ लाख रुपैयाँ कर्मचारीको तलब तथा भत्तामा खर्च गरेका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा आइजिआई प्रुडेन्सियल र युनाइटेड अजोडको कर्मचारी खर्च भने घटेको छ। आइजिआई प्रुडेन्सियलको यस्तो खर्च ५.९२ प्रतिशत र युनाइटेड अजोडको १०.६१ प्रतिशतले घटेको हो।

राष्ट्रिय बीमा कम्पनीको खर्च घट्यो

राष्ट्रिय बीमा कम्पनीले कर्मचारी खर्चमा उल्लेखनीय कटौती गरेको छ। कम्पनीको कर्मचारी तलब तथा भत्तामा हुने खर्च १५.८३ प्रतिशतले घटेर २० करोड ८२ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय बीमा कम्पनीले कर्मचारीको तलब तथा भत्तामा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो।

समग्रमा निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी खर्च सामान्य रूपमा बढे पनि कम्पनीअनुसार खर्चको वृद्धिदरमा भने उल्लेखनीय अन्तर देखिएको छ। केही कम्पनीको कर्मचारी खर्च बढेको छ भने केहीले कर्मचारीसम्बन्धी खर्चमा कटौती गरेका छन्।

सम्बन्धित समाचार