free website hit counter

निर्माणाधिन जलविद्युतको सेयरमा लगानी

beemaadmin
२०७७ पुष १२, आईतवार

सर्वसाधारण जनता, आयोजना प्रभावित स्थानीय जनता, कर्मचारी वर्ग, सरकारी स्वामित्वको सस्थाहरू, नेपाल विद्युत प्राधिकरण र सरकारको समेत लगानी भएको ठूलो आयोजना मध्येको एक माथिल्लो तामोकोसी जलविद्युत आयोजनाबाट अझै उत्पादन हुन सकेको छैन । । आयोजना बन्न नसक्ने तर समाचारमा सधै छाइरहने, फास्ट ट्र¥याक, मेलम्ची आयोजना, पोखरा तथा सिद्धार्थ विमानस्थल कै कथा झै अपर तामाकोशीको उत्पादनको कथा पनि लम्बिने क्रम जारी छ । अब आगामी चैतबाट उत्पादन थाल्ने कुरा बाहिर आएको छ । हाल ‘एक्सपान्सन जोइन्ट’को डिनजाइन संशोधन हुँदै गरेको र काम धमाधम हुँदै भन्ने समाचार आएको छ ।

यो समाचार त निर्माणाधित जलविद्युतको उदाहरण मात्र हो यस्ता थुप्रै आयोजनाहरू हाल निर्माणको चरणमा नै छन जुन सेयर बजारमा भने सुचीकृत भइ सकेको अवस्था छ । सेयर बजारमा सूचीकृत भै सकेको रसुवागढी जलविद्युत, साञ्जेन जलविद्युन, हिमालयन पावर पार्टनर जस्ता थुप्रै आयोजनाहरू निर्माणाधिन अवस्थामा नै देखिन्छन ।

सेयर धनीले हेर्न मिल्ने आम्दानीको तथ्याङकमा सुको आम्दानी भएको देखिदैन । साधारण सेयर जारी गर्दा निकालेको विवरण अनुसार हेर्ने हो भने हालसम्म आयोजना निर्माण सकिएर राम्रो आम्दानी गर्न थालिसकेको अवस्था हुनुपर्ने हो त्यो भएको छैन र तत्काल बन्ने सम्भावना पनि विविध कारणले न्यून नै देखिएको छ । निर्माणमा भएको विलम्बका कारण निर्माण लागत चुलिएर सोचेको भन्दा निकै बढी पुगेको अवस्था हरेक जलविद्युत आयोजनामा देखिएको छ । अबको दिनमा आयोजना पूर्ण रुपमा निर्माण भइसक्दा प्रति मेगावाट लागत कति पुग्ने हो सो को पूर्ण जानकारी लिनसक्ने अवस्था सेयर होल्डरका लागि उपलब्ध छैन ।

मुलुकमा विद्युतको माग भने अझै रहेको बेला विद्युत उत्पादन तत्काल गर्न सकेको अवस्थामा त विक्रीको समस्या नहोला । तर कतिपय निर्माणाधिन आयोजना बनिसक्दा पनि प्रशारण लाइनको सुविधा उपलब्ध नहुदा विद्युत विक्रीमा समस्या हुने निश्चित छ । यस्तो अवस्थामा पनि सेयर बजारमा भने निर्माणाधिन जलविद्युत आयोजनाहरूको पनि सेयरको मूल्य आकासिएको छ ।

यसले पनि नेपाली सेयर बजारका अधिकांस लगानीकर्ताले कुनै पनि जलविद्युत आयोजनाको सेयरको बजार मूल्य अनुसार त्यसले दिन प्रतिफल कति छ र आयोजनाको भविष्य कस्तो हुने हो भन्ने कुराको हेक्का नै नगरि अनि निर्माण लागत बढदा र ऋण लिएको बैंकको व्याज र सावाले पार्ने प्रभाव र सेयर होल्डरले प्राप्त गर्न सक्ने प्रतिफलको लेखाजोखा नै नगरि हचुवाको भरमा सेयर खरिद गर्ने गरेको स्पस्ट देखिन्छ । कुनै पनि समाचार माध्यममा अब कुनै जलविद्युत आयोजना निर्माण सकिने भो भन्ने समाचार आउने वित्तिकै सो जलविद्युतको सेयरको बजार मूल्य उकास्न सक्रिय हुनेहरूले फाइदा उठाउने माहोल बनेको संकेतहरू देखिन्छन ।

त्यसको उदाहरण दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा भन्ने समाचारले बारम्बार प्रभावित पारेको देखिन्छ । अन्य जलविद्युत आयोजनाको हकमा पनि त्यस्तै भएको देखिन्छ । जबकी आयोजना निर्माण पश्चात् विद्युत विक्रीबाट हुने आम्दानी र त्यस आयोजनाले सेयर होल्डरलाई दिनसक्ने प्रतिफलको कहि कतै लेखाजोखा भएको पाइदैन ।

हाल निर्माण सकेर विद्युत विक्रीबाट लामो समयदेखि राम्रो आम्दानी गर्न र प्रतिफल दिन सफल चिलिमे, बुटवल पावर, सािनमा हाइड्रो जस्ता राम्रा कम्पनीको भने प्रतिफल अनुसार बजार मूल्य कायम भएको देखिदैन । जबकी सानो आयोजना अनि कम मात्र प्रतिफल दिन सक्ने कतिपय जलविद्युत आयोजनाको सेयर मूल्य बजारमा निकै चर्को देखिन्छ ।

भूकम्प, भारतीय नाकाबन्दी अनि हाल देखिएको कोभिड–१९ ले आयोजनाहरूमा पारेको र पार्नसक्ने प्रभावको लेखाजोखा गरेर आफूले लगानी गरेको जलविद्युतको सेयरको लगानीले भविष्यमा दिनसक्ने प्रतिफलको अनुमानको आधारमा मात्रै सेयर बजारमा जलविद्युत कम्पनीको सेयर खरिद गर्दा उपयुक्त हुने देखिन्छ । हल्लाको भरमा आयोजना निर्माण सम्पन्न हुने भो भनेको भरमा सेयर खरिद गर्दा पछताउनु पर्ने अवस्था आउन सक्छ । हाल नेपाली सेयर बजारमा जलविद्युत समूहको सेयरमा आएको उछालमा राम्रो प्रतिफल दिन सक्ने सेयरको रोजाइ गर्न चनाखो हुनुपर्ने बेला आएको छ ।

४५६ मेगावाटको ठूलो आयोजना अपर तामाकोशीको छ युनिट मध्ये एक युनिट ७६ मेगावाट मात्र पहिलो चरणमा उत्पादन हुने भएकोले त्यसले गर्ने आम्दानीले लगानीको प्रतिफल दिन सक्छ ? त्यो प्रश्नको हल खोज्नु पर्छ । अनि ३४–३५ अर्बमा सम्पर्ण निर्माण कार्य सक्ने लक्ष्य सहित निर्माण थालिएको माथिल्लो तामाकोशीको निर्माण लागत हाल करिब ७२ अर्ब लाग्ने अनुमान गरिएको छ ।

अझ समय घर्कने हो भने निर्माण लागत कति पुग्ने हो ? त्यसको कुनै ठेगान छैन । अनि सानो जलविद्युत आयोजनाहरू र तीनले दिने प्रतिफल र ती जलविद्युत कम्पनीहरूको सेयरको बजार मूल्य सही छ वा छैन भन्ने निक्र्यौल गरेर मात्र जलविद्युतको सेयरमा लगानी गर्नु भने बुद्धिमानी हुन्छ । निर्माण भएर सञ्चालनमा रहेको आयोजनाको लेखाजोखा गरेर लगानी गर्न त सजिलै छ तर निर्माणाधित आयोजनाको थप तथ्याङ्कहरू सार्वजनिक हुने वातावरण निर्माणमा नियमनकारी निकायहरूले पहल गर्नुपर्ने देखिन्छ । अन्यथा यथेष्ट जानकारी बिना नै भएको लगानी जोखिम पूर्ण हुनसक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार