पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रस्तावित प्रधानमन्त्री, वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने पार्टी सचिवालयको बैठकमा यो प्रस्तावलाई पुनर्जिवित गर्छन् या नयाँ प्रस्ताव ल्याउँछन् भन्ने विषयमा सर्वत्र चासोको विषय बनेको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्र मडारिएको भिडन्तको व्यवस्थापन आज साँझ बस्नेत पार्टी सचिवालय बैठकमा व्यवस्थापन गर्ने सम्भावना भने देखिँदैन । तीन दिनअघि बसेको सचिवालय बैठकमा आफूविरुद्ध घेराबन्दी गर्ने नेताहरुको अडकलबाजी विपरित प्रस्ताव पेश गरेका ओलीको उक्त प्रस्तावपछि दुई धु्रवमा देखिएको नेकपाभित्रको विवाद तेस्रो ध्रुवमा पुगेको छ ।
सचिवालय सदस्यहरुमध्ये प्रधानमन्त्री ओलीको प्रस्तावमा पार्टी नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादलको समर्थन रहेकोमा उक्त प्रस्तावपछि पार्टी उपाध्यक्ष गौतम पनि ओलीकै पक्षमा आजको बैठकमा उभिन सक्ने सम्भावना रहेको छ । पछिल्लो समय ओलीविरोधी खेमामा उभिएका गौतम पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका थिए । गौतमले दाहाल–नेपाल गठबन्धनलाई साथ दिएपछि सचिवालयमा अल्पमतमा परेका ओलीले गौतमलाई आफूतिर आकर्षित गर्न प्रधानमन्त्रीकै प्रस्ताव गरेपछि सांसद समेत नभएका गौतम निकै उत्साहित भएका छन् ।
ओलीको यो प्रस्तावले नेकपाभित्रको भैसेपाटी गठबन्धन भत्किन पुगेको आँकलन गरिएको छ । शुक्रबार साँझ नेपाल निवासमा बोलाइएको भेलामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थिति रहँदा गौतमको अनुपस्थिति रहनु र सो समयमा प्रधानमन्त्री बन्नका लागि विद्यमान कानुनी अड्चनका बारेमा आफू निकट कानुन व्यवसायीसँग छलफलमा व्यस्त रहनुले पनि गौतम ओलीको उक्त प्रस्ताव कार्यान्वयन हुने कुरामा विश्वस्त छन् । उक्त प्रस्तावप्रति गौतम उत्साहित बनेको र तत्कालका लागि प्रधानमन्त्री पद सुरक्षित हुने ठानेर प्रधानमन्त्रीले आज अघिल्लो बैठकको मौखिक प्रस्तावलाई लिखित रुपमै बैठकमा पेश गर्ने तयारी गरेका छन् । यो प्रस्ताव लिखित रुपमा आएपछि दाहाल–नेपाल समूहलाई पनि उक्त प्रस्तावको विपक्षमा जान गाह्रो हुने र समर्थन गर्नैपर्ने बाध्यता आइलाग्न सक्छ । यस्तो अवस्थामा सचिवालयले आज थप छलफलका लागि समय माग गर्ने वा प्रस्तावलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने सम्भावना छ ।
बजेटको तयारी, कोरोना रोकथामका लागि सरकारले समय दिनुपर्ने बहाना झिक्दै प्रम ओलीले स्थायी कमिटीको बैठक बजेटपछि राख्ने प्रस्ताव राख्न सक्छन् । यस्तो अवस्थामा विपक्षी गुटलाई पनि धर्मसंकट पर्न सक्दछ । त्यतिबेला विपक्षी गुटले कस्तो रणनीति बनाउने भन्ने विषयमा गृहकार्य गरिरहेको बताइन्छ । वामदेवलाई प्रतिनिधिसभा सदस्यमै निर्वाचित गराएर संविधान संशोधन बेगरनै प्रधानमन्त्री बनाउन सकिन्छ भनेर पार्टी दुई सांसद खगराज अधिकारी र महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्र आवश्यक परे वामदेवका लागि छाडिदिने घोषणा गरिसकेका छन् ।
यसो हुन नसक्दाको अवस्थामा प्रधानमन्त्री ओलीले वामदेवलाई खुशी बनाउन आजै राष्ट्रियसभा सदस्यमा सिफारिशका लागि सचिवालयलबाट अनुमादन गराउन सक्ने सम्भावना पनि उत्तिकै छ । दाहाल–नेपाल समूहले यसअघि नै गौतमलाई राष्ट्रियसभा सदस्यमा सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नका लागि पटक पटक ओलीलाई आग्रह गर्दै आएका थिए तर ओलीले गौतम आफ्नो गठबन्धनबाट टाढिएपछि उक्त प्रस्ताव कार्यान्वयन गरेका थिएनन् । अहिले पार्टीभित्र अप्ठ्यारोमा परेपछि गौतमलाई आफ्नो पक्षमा तान्न उक्त निर्णय कार्यान्वयन गर्दा संकट मोचन हुनसक्ने अवस्था आयो भने ओलीले विकल्पलाई पनि प्रयोग गर्नसक्ने सम्भावना उत्तिकै छ । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधनका लागि पनि पहल गर्ने भनेर यो संकटबाट पार पाउने सम्भावना पनि उत्तिकै छ ।