काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कम्पनीले आगामी २०८३ असोज ३ गते काठमाडौंको सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको सहभागिता रहनेछ।
‘जोखिमको सुरक्षा, हरेक गोलको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, प्रतियोगितामार्फत कर्मचारीहरूमा स्वस्थ जीवनशैलीप्रति चेतना अभिवृद्धि गर्ने तथा खेलकुदका माध्यमबाट बीमा क्षेत्रका विभिन्न संस्थाबीच आपसी सम्बन्ध थप मजबुत बनाउने लक्ष्य राखिएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
यसअघि आयोजित पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।