अमेरिकाको पचासै राज्यमा कुनै न कुनै संख्यामा नेपालीहरूको वसोवास भएको पाईन्छ। आफ्नो जन्म दिने आमा र जन्म भूमिको माया कसलाई पो हुदैन र! त्यसैले यस्तो ब्यस्त भूमिमा कर्म क्षेत्र बनाए पनि यहा बस्ने हरेक नेपालीको मन र मुटुमा आफ्नो जन्म भूमि रहेको पाईन्छ।भनिएको पनि छ -“ जननि जन्म भूमिश्चः स्वर्गादऽपि गरियसी”। जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा पनि महान् हुन्छन्। भन्नेले गैर आवासीय नेपालीहरूलाई अवसरवादी सम्म भन्न बेर लगाउदैनन् तर स्वदेशमा वेरोजगार भएका कारण रोजगारी खोज्न विदेशिएका नेपालीलाई लाल मार्काको आरोप लगाउनु अती पूर्वाग्रह वाहेक केही हैन। विदेशमा नेपालीहरू संगठित भएर आफ्नो जन्म भूमिलाई सम्झने गर्छन्।
यसका लागि नेपाल डे भनेर यस दिवसलाई सेलीबेरेट गरेको पाईन्छ। विश्वमा छरिएर रहेका नेपालीहरूको संख्या झण्डै नेपालको जनसंख्याको एक तिहाई होला। जनसंख्यालाई आधार मान्ने हो भने यो क्षेत्र नेपालको भौगोलिक सीमा बाहिरको नेपाल हो। आफ्नो अस्तित्वका लागि विभिन्न हैसियतमा रहे पनि सबैको मन त नेपाली नै हो। यही रहरले नेपालको कला, संस्कृति लाई बचाउन र यो सम्पदालाई दोश्रो पुस्तामा हस्तान्तरण गर्न विदेशमा यस किसिमका पर्वहरू मनाईन्छन्। नर्थ क्यारोलिनामा पनि हरेक अप्रिल महिनाको तेश्रो शनिवार नेपाल डे परेडको रूपमा मनाईने चलन विगत ८ वर्ष देखि हुदै आएको छ। गत २ साल कोभीड-१९ का कारणले स्थगित हुन गएको यो पर्व यस पटक छैठौ नेपाल डे परेडको रूपमा मनाईयो।
यो दिवस यहा स्थित NCNC नामक नेपाली संस्थाको आयोजना र ब्यबस्थापनमा मनाउने गरिन्छ। यो राज्यमा रहेका नेपालीहरूले यसमा सहभागिता जनाएर यसलाई राष्ट्रिय पर्वको रूपमा मान्ने गर्छन् । यसमा स्टेट गभर्नर लगायत राज्य, काउण्टी, नगर सबैबाट पाहुना आएर सहभागिता जनाएर नेपालको कला, संस्कृति, पहिचान बारे जानकारी लिन्छन्। नेपाल सरकारको प्रतिनिधित्व स्थानीय राजदूतावासले गरेको हुन्छ। यस दिवसमा नेपालको हिमाल देखि तराई, पूर्व देखि पश्चिमका नेपालीले खानपान, वेशभूषा, कला संस्कृति, नाचगान गरेर उपस्थिति देखाए।
कतिपय नेपाली ले त स्टल राखेर नेपाली सामानहरूको प्रदर्शन तथा बिक्री बितरण पनि गरेको पाईयो जुन लामो समय देखि नेपाल जान नपाएका र दोश्रो पुस्ताका नेपालीहरूको अभिरूचीको केन्द्र बनेको देखियो। यस समारोहमा नेपालका पर्यटकीय स्थानको जानकारी , नेपालको कला संस्कृतिको चिनारी विदेशी पाहुनाहरूलाई दिईएको थियो भने नेपालको झण्डा, राष्ट्रिय गान जस्ता नेपालका सम्पदा बारे दोश्रो पुस्तालाई जानकारी गराईएको थियो। यो परिपाटीले भावी पुस्तालाई नेपाल र नेपालीका विषयमा जानकारी लिन सहयोग हुने देखियो। यस्ता समुदायहरूले स्थानीय निकाय र नेपाल सरकारका स्थानीय निकाय बीच सेतुको काम गर्ने हुदा दुई देश बीचको सहयोग आदान प्रदानमा समेत भूमिका खेल्न सक्ने देखिन्छ।
हाल आएर यस्ता समुदायले परवासी नेपालीहरूलाई आफ्नो भाषाबाटै लाईसेन्सिंगको परीक्षा दिन मिल्ने, स्वास्थ सुविधा लिदा पनि दोभाषेको काम गरिदिने ब्यबस्था मिलाईदिएर अंग्रेजी भाषा नजान्नेहरूका लागि पनि सहज वातावरण बनाएको पाईन्छ। त्यसै गरी नेपाल भाषी विद्यार्थीहरूलाई दोश्रो भाषाको रूपमा नेपाली विषयको पठनपाठनको ब्यबस्था मिलाउन यस्ता समुदायले समन्वय गरेको पाईन्छ। आजभोली यस्ता समुदायले गैर आवासीय नेपालीका सन्तानलाई नेपाली भाषा समेत सिकाउने अभियानको थालनी नै गरी सकेका छन्। नेपालबाट आएका विद्यार्थीहरूलाई यहाको वातावरणमा सहजता प्रदान गर्दै वृत्ति विकासमा सहयोग पुर्याएका छन् यी संस्थाहरूले।
यसरी विदेशमा खडा भएका यस्ता संस्थाहरूको महत्व दिन परदिन बढ्दै गएको छ र यसबाट नेपालले पनि प्रसस्त सहयोग लिन सक्ने देखिन्छ। आफ्नो मातृभूमिलाई सहयोग गर्न पाउदा यी संस्थाहरूले समेत गौरव गर्ने छन्।