free website hit counter

नेपाल पुनर्बीमाको नाफामा ठूलो गिरावट

beemaadmin
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनी अघिल्लो वर्षको नाफाबाट यस वर्ष ठूलो घाटामा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Advertisement
Advertisement

कम्पनीका अनुसार उच्च दाबी भुक्तानी र बीमाशुल्क आर्जनमा आएको कमीका कारण वित्तीय नतिजा उल्लेख्य रूपमा प्रभावित भएको हो। तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेर ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

Advertisement
Advertisement

त्यस्तै, व्यावसायिक आम्दानी तथा लगानीबाट प्राप्त प्रतिफल घटेसँगै कुल आम्दानी २२.०५ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड १६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ थियो।

आम्दानीमा आएको गिरावट र उच्च खर्चका कारण कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४३.४१ रुपैयाँले ऋणात्मक बनेको छ। गत वर्ष सोही अवधिमा ईपीएस ५.४५ रुपैयाँ धनात्मक रहेको थियो।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी दोब्बरभन्दा बढी बढेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। साथै, कुल खर्च ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ यथावत रहेको छ। भने कुल सम्पत्ति ३५ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ३९ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोष ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.५५ रुपैयाँ रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात ३.६५ कायम रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १.५ भन्दा माथि भएकाले नियामकीय मापदण्डभित्र रहेको देखिन्छ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रमा देखिएको सुस्तताले लगानी प्रतिफल प्रभावित भएको जनाएको छ। आगामी दिनमा लगानीको विविधीकरण र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने रणनीति अपनाइने पनि कम्पनीले उल्लेख गरेको छ।

सम्बन्धित समाचार