काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा नेपाल रिइन्स्योरेन्स कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ५ गतेदेखि चैत १९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । खरिद गर्न इच्छुकले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्दा कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।