काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) ले निर्माण जोखिम बीमा (सीएआर) दाबी व्यवस्थापनसम्बन्धी एकदिने तालिम आयोजना गर्ने भएको छ। ‘निर्माण जोखिम बीमा दाबी व्यवस्थापन : स्थलगत निरीक्षणदेखि प्रतिवेदन लेखनसम्म’ विषयक तालिम आगामी साउन १७ गते आयोजना गरिने संघले जनाएको छ।
निसाका अनुसार निर्माण जोखिम बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन तयार गर्ने प्रक्रियामा सहभागीहरूको व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो।
तालिम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको मैत्री मार्गस्थित होटल साङ्ग्रिला ब्लुमा सञ्चालन हुनेछ।
तालिमका प्रशिक्षक इन्जिनियर जगन्नाथ गौतम रहनेछन्। उनी सिभिल इन्जिनियर, निर्माण व्यवस्थापनमा स्नातकोत्तर, बीमा सर्भेयर तथा प्राविधिक लेखापरीक्षक (टेक्निकल अडिटर) हुन्। तालिममा निर्माण जोखिम बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन लेखनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइनेछ।
यो तालिम विशेषगरी बीमा सर्भेयर, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टलाई लक्षित गरिएको छ। प्रभावकारी सिकाइ सुनिश्चित गर्न अधिकतम २५ जना सहभागी मात्र समावेश गरिने भएकाले इच्छुकलाई समयमै दर्ता गर्न निसाले आग्रह गरेको छ।
संघले सदस्यका लागि ५ हजार रुपैयाँ, गैरसदस्यका लागि ८ हजार रुपैयाँ तथा कर्पोरेट सहभागीका लागि १० हजार रुपैयाँ सहभागिता शुल्क निर्धारण गरेको जनाएको छ।