काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा आरबी डायग्नोस्टिकमार्फत सेवा प्रदान गरिएको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायत विभिन्न स्वास्थ्य परीक्षण नि:शुल्क गरिएको थियो भने विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा पनि उपलब्ध गराइएको थियो। दुईदिने शिविरबाट कुल ६०१ जनाले लाभ लिएको कम्पनीले जनाएको छ।
यसै अवसरमा नेपाल लाइफले सातै प्रदेशका १३ स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममार्फत इटहरी, वीरगन्ज, जनकपुर, काठमाडौं, नारायणगढ, नुवाकोट, हेटौँडा, बनेपा, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढीबाट गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ।
‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारासहित सेवा दिँदै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्दै आएको छ।
नेपाल लाइफले हाल देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ भने ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार विगत २५ वर्षमा करिब ५४ लाख नेपाली परिवारले यसको सेवा लिएका छन्।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरेका छन्।
