काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि नवीकरण बीमाशुल्क नतिरेका बीमितलाई विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले कात्तिक १० गतेदेखि मंसिर २४ गतेसम्म बक्यौता बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्ने ग्राहकलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो। कम्पनीका अनुसार १८० दिनभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखमा यो सुविधा लागू हुनेछ।
योजनाअन्तर्गत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा बक्यौता अवधिका आधारमा छुट दिइनेछ। तीन वर्षसम्म नवीकरण नभएका बीमालेखमा विलम्ब शुल्कको ३० प्रतिशत छुट पाइनेछ। त्यस्तै, तीन वर्षभन्दा बढी र पाँच वर्षसम्म नवीकरण नभएका बीमालेखमा २५ प्रतिशत तथा पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका बीमालेखमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।
कम्पनीले यो सुविधा बीमाशुल्कमा नभई बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा मात्र लागू हुने स्पष्ट पारेको छ।
योजनामा केही सर्तसमेत राखिएका छन्। छुट सुविधामार्फत बीमालेख पुनर्जागरण अर्थात् पुनः सक्रिय गराएको मितिले एक वर्षभित्र बीमितले बीमालेख समर्पण गरेमा छुटबाट प्राप्त सम्पूर्ण रकम कट्टा गरिनेछ।
त्यसैगरी, एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले सोही बीमालेखमा पूरा बीमा अवधिभर पुनः यस्तो छुट पाउने छैनन्।
लामो समयदेखि नवीकरण हुन नसकेका बीमालेखलाई पुनः सक्रिय गराउन र बीमितलाई आफ्नो बीमालेख निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले कम्पनीले यो सुविधा ल्याएको जनाएको छ।