काठमाडौं । बैंकिङ क्षेत्रमा भित्रिएका अत्याधुनिक प्रविधिसँगै अनेक खालका समस्या पनि देखिइरहेका छन् । चिनियाँ ह्याकरहरुले ठूलो परिणामको रकम झिक्न सफल भएपछि नेपाली बैंकहरुको सुरक्षाका बारेमा अनेक तर्क वितर्क हुन थालेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ क्षेत्रमा साइबर क्राइमको जोखिम बढेकाले जोखिमलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय क्षेत्रले साइवर सुरक्षामा लगानी बढाउनु पर्ने बताएका छन् । उनले भने एनआईसी एशियाको स्वीफ्ट ह्याकदेखि अहिलेसम्म भएका क्राइमहरूको प्रकृति हेर्दा जोखिम अझ बढेको छ । प्रविधिले बढाएको जोखिम न्यूनीकरण गर्न यसमा लगानी गर्नै पर्ने अवस्था आएको उनले बताए । यो विकाससँगै आएको हो र यसलाई हामीले मिलेरै समाधान गर्नुपर्छ ।
अहिलेको युग भनेको प्रविधिको युग भएको र यसको अधिकतम उपयोगले वित्तीय बजारलाई क्यासलेस बनाउँदै जाने उनले बताए । डिजिटाइजेशनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान राष्ट्र बैंकले अभियान नै शुरु गरेको उनले जानकारी गराए ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पेमेन्ट कार्ड, मोबाइल वालेट, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्पिटिङ लगायतका विकासले वित्तिय क्षेत्रको क्षमता र प्रभावलाई बढाएको छ । साइबर क्राइम दैनिक नयाँ नयाँ ढंगले आईरहेकाले सोही अनुसारको सुरक्षा अपनाउनु पर्ने उनले बताए ।