free website hit counter

नेपाली नर्सले बेलायतमा पाउनेछन् वार्षिक ७५ लाखसम्म तलब

beemaadmin
२०७८ मंसिर २१, मंगलवार

काठमाडौं । नेपाली नर्सहरुको भाग विश्व बजारभर छ । सम्मानित रोजगारी र आकर्षक तलब भएकै कारण विदेश बस्ने युवाहरुले नेपाली नर्स युवती खोजी खोजी विवाह गरेर लैजाने गरेका छन् । विश्वका ठूला मुुलुकमा नेपाली नर्सहरुको मगा बढ्दो छ । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ । बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ । तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको उनले बताए । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले छलफल अघि बढाएको घिमिरेले जानकारी दिए । अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको मन्त्रालयबाट हालै सरुवा भएका सचिव सूर्यप्रसाद गौतमले सार्वजनिक कार्यक्रमहरुमै बताउँदै आएका छन् । बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान चाहेको बुझिएको छ ।
सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा जीटुजी समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुटेका छन् । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउने जानकारी बेलायतले दिएको मन्त्रालय स्रोतले बतायो ।
नर्सलाई अवसर दिनेबारे छलफल थालेपछि मन्त्रालयले नेपाली बजारमा उपलब्ध नर्सबारे पनि नर्सिङ काउन्सिलबाट जानकारी पनि लिएको छ । जसअनुसार नर्सिङ काउन्सिलमा ६६ हजार नर्स दर्ता छन् । त्यसमध्ये २४ हजार जना रोजगारी र पढाइका सिलसिलामा देश बाहिर छन् । ८ हजार नर्स भने विभिन्न सरकारी स्वास्थ्य संस्थामा सेवारत छन् । बजारमा उपल्बध करीब ३३ हजारमध्ये कति नर्स निजी स्वास्थ्य संस्थामा रहेर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन । नेपालले सरकारी तवरबाटै नर्सलाई ‘केयर गिभर’का रुपमा इजरायलमा पठाइरहेको छ । यस्तै व्यक्तिगत तवरमा श्रम इजाजत लिएर नर्सिङकै लागि विभिन्न देश जानेको संख्या पनि ठूलो छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता घिमिरे वार्ता जारी रहेकाले प्रक्रियागत विषयहरु अझै स्पष्ट नभएको बताउँछन् । बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफलमा छौं, प्रवक्ता घिमिरे भन्छन्, बेलायतले इच्छा देखाएअनुसार नै समझदारी भयो भने नेपाली नर्सका नयाँ श्रम गन्तव्यको ढोका खुल्छ । तर, नर्सहरू पनि विभिन्न स्तर र प्रकारका रहेकाले कस्ता नर्सले बेलायतमा अवसर पाउने भन्ने यकिन हुन बाँकी रहेको घिमिरेले बताए । नेपालमा एसएलसी गरेर तालिम लिएका, उच्च शिक्षा लिएका, स्नातक गरेका र स्नातकोत्तर गरेकासम्म फरक(फरक प्रकृतिका नर्स छन् । नर्सको भाषाको स्तर कस्तो हुने र शैक्षिक स्तर कति हुनुपर्ने लगायतका पक्षमा अहिले दुबै पक्षमा छलफलमा छ ।
बेलायतसँग वार्तामा सहभागी एक अधिकारीका अनुसार अंग्रेजी भाषामा निपुणले मात्रा यो अवसर पाउने देखिएको छ । त्यसका लागि छुट्टै भाषा परीक्षा समेत लिने बेलायतको प्रस्ताव छ । तर, भाषा परीक्षामा प्राप्त गर्नुपर्ने अंकबारे अझै दुवै पक्ष एकमत भएका छैनन् ।

नेपालले सबै शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने गरी गरेको प्रस्तावमा बेलायत सहमत भइसकेको ती अधिकारीले बताए । भाषा, मेडिकल, भिसा, टिकट, बीमादेखि सबै खर्च आफैंले व्यहोर्न बेलायत सरकार तयार भइसकेको छ । नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने बेलायतको प्रस्ताव छ । पहिलो चरणमा केही सय नर्सलाई अवसर दिने र क्रमैसँग थप्दै जाने बेलायतको योजना रहेको मन्त्रालय स्रोत बताउँछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार