free website hit counter

नेप्से २२०० को विन्दुमाथि, ६ महिना यताकै उच्च कारोबार

beemaadmin
२०८१ असार २८, बिहीबार

काठमाडौं । पुँजी बजारमा सुधार संकेत देखिन थालेका छन् ।  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २२०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक करिब १ वर्षपछि २२०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि २०८० साउन ८ गते, नेप्से २२००।५० विन्दुमा बन्द भएको थियो। सोपश्चात करिब ६ महिनाअघि इन्ट्राडेमा २२०० विन्दुभन्दा पुगेपनि सो विन्दुभन्दा माथि बन्द भएको थिएन। त्यसयता यसै दिन नेप्से २२०० विन्दुभन्दा माथि बन्द भएको हो। बिहीबार नेप्से परिसूचक २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ८७ हजार ८६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम ६ महिना यताकै उच्च हो। यस अघि गत पुस २६ गते नेप्सेमा ७ अर्बभन्दा बढीको कारोबार भएको थियो। यस दिन बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ ३० पैसा बढेर ४२१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स युपर ३० म्युचुअल फण्ड र एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समाज लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.५९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब १५ करोडको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३।०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ भने जलविद्युत, म्युचुुअल फण्ड, निर्जीवनबीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

सम्बन्धित समाचार