free website hit counter

नेशनल लाइफको चारदिने शाखा व्यवस्थापक सम्मेलन सम्पन्न

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल र प्रशिक्षण गरिएको हो।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले कर्मचारीले बजारको बदलिँदो स्वरूपअनुसार आफूलाई तयार गर्नुपर्ने बताइन्। प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीको क्षमता र दक्षता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो।

कम्पनीले कर्मचारीको क्षमता विकासका लागि विभिन्न तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताउँदै सिंहले पछिल्लो समय विश्वव्यापी रूपमा प्रभाव बढाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई बीमा क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

विशेषगरी डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन एआईसम्बन्धी ज्ञान र प्रविधिको उपयोग गर्न सकिने उनको भनाइ थियो। कर्मचारीको वृत्ति विकासका लागि कम्पनीले मानव संसाधनमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै उनले कर्मचारीको अधिकतम प्रयास, समन्वय र संस्थागत प्रतिबद्धताबाट कम्पनीले आगामी दिनमा थप व्यावसायिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्य दिँदै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए। नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तन नभई सोच, प्रतिबद्धता र भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने अवसर भएको उनको भनाइ थियो।

एआई र डिजिटल मार्केटिङमा प्रशिक्षण

सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना रहेकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए।

त्यस्तै, एआई प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न उपकरण र तिनको प्रयोगबारे प्रशिक्षण दिएका थिए। उनले एआईको प्रयोगमार्फत बीमा व्यवसायको डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन सकिने उपायबारे जानकारी गराए।

श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती तथा व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए। उनले बजार विस्तार, व्यवसाय वृद्धि र प्रतिस्पर्धामा सफल हुने विभिन्न व्यावहारिक रणनीति प्रस्तुत गरेका थिए।

उत्कृष्ट शाखालाई सम्मान

सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो।

त्यसैगरी, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ। उत्कृष्ट शाखा कार्यालयलाई कम्पनीकी अध्यक्ष सिंहले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन्।

कर्मचारीबीच सम्बन्ध सुदृढ गर्न मनोरञ्जनात्मक कार्यक्रम

सम्मेलनमा व्यावसायिक रणनीति र क्षमता विकाससँगै कर्मचारीबीच आपसी सम्बन्ध तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो।

पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस र म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए।

चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार