काठमाडौं । काठमाडौंमा पठाओ दुर्घटनामा २ जनाको ज्यान गएपछि क्षतिपूर्ति र बीमाको विषयमा बहस शुरु भएको छ । काठमाडौंको कलंकीस्थित खसी बजारमा बसको ठक्करबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मंगलबार निधन भएको छ ।
पठाओ दुर्घटनामा राइडर र यात्रुले ज्यान गुमाएको यो पहिलो घटना भएका कारण पनि बीमाको व्यवस्था के हुन्छ भन्ने विषयमा सबैको चासो बढेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवाललाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको नेपालस्थित पठाओको कार्यालयलेकी मार्केटिङ मेनेजर सुरक्षा हमालले बताएकी छिन् ।
राइडर र यात्रु दुवैको बीमा गरिएको जानकारी दिँदै हमालले भनिन्, हामीले ५ लाखको बीमा गरेका छौं, सो रकम मृतकका परिवारलाई दिन्छौं । कम्पनीले दुर्घटनामा घाइते हुनेहरुका लागि १ लाखको बीमा गरिदिएको छ ।
कलंकीस्थित सीता पेट्रोलपम्प नजिकै प्रदेश–३–०१–००५ख ९३०० नम्बरको बसले गलत तर्फबाट स्कुटरलाई ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरका राइडर धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका खरी घर भएका राम बहादुर आचार्य हुन्। पाँच वर्ष कोरिया बसेर फर्केका आचार्यले कार्तिक २५ मा पठाओ कार्यालयमा आफ्नो स्कुटर दर्ता गराएका थिए । दुर्घटना गराउने ओम जनता यातायात प्रालिका बसका चालक सिन्धुली घर भएका सुमन कार्कीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । ओम जनता यातायात प्रालिका संचालकले नेपाल बन्दको बेलामा कम्पनीको अनुमति बीना चालकले आफ्नै इच्छामा गाडी चलाएको भन्दै संस्था जिम्मेवार नभएको भनेर पन्छिइरेको छ ।