free website hit counter

पशुपतिनाथ मन्दिर प्रवेश गरेको आरोपमा इटहरीका दम्पती पक्राउ

beemaadmin
२०८३ आश्विन २१, बुधबार

विराटनगर । पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो। केही दिनअघि प्रेम विवाह गरेका प्रियंका र ओसीम पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले त्यहाँ भिडियोसमेत बनाएका थिए।

उक्त भिडियोमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि यस विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो। सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत यसबारे प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ।

यसअघि अन्सारी दम्पतीले भिडियोमार्फत घटनाबारे स्पष्टीकरण दिँदै आफूहरू पशुपतिनाथ मन्दिरको मूल गर्भगृहमा प्रवेश नगरेको बताएका थिए। उनीहरूका अनुसार मन्दिरको मूल ढोकाबाट प्रवेश गरेपछि भर्‍याङबाटै फर्काइएको थियो।

प्रियंकाले पशुपतिनाथलाई आफूले आस्थाको केन्द्रका रूपमा मान्दै आएको र श्रीमान्लाई समेत मन्दिर देखाउन लिएर गएको बताएकी छन्।

पक्राउ परेका अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा रहेको बताइएको छ।

सम्बन्धित समाचार