बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका अपराधीहरू अझै पत्ता लाग्न सकेका छैनन् । हालैमात्र बैतडीकी किशोरी भागीरथी भट्टको पनि त्यस्तै बर्बर हत्या भयो । यसरी बालिकाहरूमाथि ठाउँ–ठाउँमा आपराधिक घटनाहरू भइरहेको त्रासमय अवस्थाकाबीच केही दिनअघि नवलपुरको गैंडाकोट–८ स्थित एउटा घरबाट भर्खरकी छोरी हराइन् ।
विद्यालय जान भनी स्कुल ड्रेसमै झोला बोकेर निस्किएकी छोरी फर्केर नआएपछि अभिभावकलाई कति पिरोल्यो होला ? त्यो पनि ‘मलाई खोज्ने कोसिस नगर्नू, नत्र मर्नेछु’ भन्ने किसिमको पत्र नै लेखेर हिँडेपछि जन्मदिने आमाको मन भत्भती पोल्ने नै भयो । छोरीमाथि कुनै अप्रिय घटना हुने हो कि ! कसैले केही ग¥यो वा आफैं मरी कि…. मारिदिए कि….. भन्ने चिन्ताले व्यथित हुँदै एक्लै रुँदै, कराउँदै, छटपटिँदै छिमेकी, आफन्त, प्रहरी, मिडिया सकेजति सबैलाई गुहारिन्, भगवानको नाम पनि पुकार्दै रहिन् । श्रीमान् वैदेशिक रोजगारीमा दुवई छन्, १४ वर्षदेखि ।
छोरी कुमारी परियार (परिवर्तित नाम) पनि अहिले भर्खर चौधै टेकेकी नवकिशोरी हुन्, कक्षा पाँचमा पढ्ने । गत शुक्रबार विद्यालय जान निस्केकी तर भाइलाई चिठ्ठी छोडेर बेपत्ता । खोज्दै जाँदा दमौली पुगेको पत्ता लाग्यो बच्ची । बताइएअनुसार केटीले आफ्नी छेमा पर्नेको मोबाइलमा म्यासेन्जर चलाउँथिन् । घर छोडेर हिँडेपछि नारायणगढमा कानको सुन बेचेर एउटा मोबाइल किनिछन् । त्यही मोबाइलबाट उनले केटासँग म्यासेन्जरमा कुरा गरेको यता छेमाको मोबाइलमा देखियो । त्यसमा केटाले आफ्नो मोबाइल नम्बर समेत लेखी पठाएको पाइएपछि भोलिपल्टै दमौली पुग्दा संयोेगले आइतबार बिहानै एउटा होटलबाहिर छोरी फेला परेकी उनकी आमाले जानकारी दिइन् ।
हिजोआज कैयौं अभिभावकले आफ्ना स(साना नानीबाबुलाई भुलाउन मोबाइल नै चलाउन दिने गरेको देखिन्छ । ‘बालबालिकालाई मोबाइल दिनै नहुने रहेछ’, कुमारीकी आमा शान्तिले भनिन्, ‘२०÷२२ वर्षको नभएसम्म सुन पनि लगाइदिन नहुने रहेछ ।’ आफूले ३५ हजार हालेर लगाइदिएको सुन छोरीले एउटा कपडा पसलको मान्छेलाई १५ हजारमा बेचेकी भन्ने बुझिएको बताउँदै उनले त्यसरी बच्चासँग सुन किन्नेलाई समात्नुपर्ने बताइन् । छोरी भेटिएपछि केही शान्त देखिएकी शान्तिले थपिन्, ‘मैले उसकै अगाडि शिक्षकलाई फोन गरेर कुरा लगाइदिनु पनि ठिक भएन भन्ने लाग्यो अहिले ।’ पढाइ र निद्रै डिस्टर्ब हुनेगरी मोबाइल बढी खेलाउन थालेपछि शान्तिले शुक्रबार बिहान बोर्डिङको टिचरलाई कुमारीकै अगाडि फोन गरेर कुरा लगाइदिएकी थिइन् । आफ्नी छोरीको यो लकडाउनयता मोबाइलमा बेसरी बानी परेको शान्ति बताउँछिन् ।
हिजोआज मोबाइलमा फेसबुक, ट्वीटरको जमाना छ, अनेकथरी मान्छेसँग भेट हुन्छ । किशोरावस्था विपरीत लिंगीप्रति आकर्षित हुने बेला नै हो । कुमारी पनि राति अबेरसम्म पबजी, थ्रिफाइर खेल्ने, फेसबुकमा भेटिएको केटासित गफिएर बस्थिन् भन्ने उनकै सहपाठी साथीको भनाइ छ । ‘केटाले रातभरि फोन गर्छ भनेर सुनाउँथिन्’, उनी हराएपछि सोधखोज गर्नेहरूलाई सुनाउँदै उत्रै साथी भन्दै थिइन्, ‘स्कूलमा पनि अनिद्राले झुलेर, सुतेर बस्थिन् ।’
केटाकेटीहरूमा मोबाइलको लत डिजिटल ड्रगको रूपमा देखिएको बताउँदै इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापा भन्छन्, ‘डिजिटल ड्रगले क्रियटिभ माइन्ड हुनै सक्दैन । यसतर्फ अभिभावक एकदम सचेत हुन जरुरी छ ।’ – अजय गोर्खाली, जनआस्था