काठमाडौं । बीमा समितिले तोकेको मापदण्ड पूरा गरेका दाबीको पनि भुक्तानी नभएपछि अर्थ मन्त्रालयले पटक पटक दबाव दिएपछि कोरोना बीमाको दाबी भुक्तानी सहज बनाइएको छ । बीमा शुल्कभन्दा दायित्व तीन गुणा भन्दा बढी रहेको बेला बीमा समितिले अहिले दाबी भुक्तानी प्रक्रियालाई सहज बनाएको हो ।
कोरोना बिमाबापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । सोमबार कार्यालय समय सकिँदासम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कृत हुने प्रक्रियामा छ ।
बिमक संघका अनुसार ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने तयारी छ ।
बीमा कम्पनीहरूले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । स्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउनु पर्दैन ।
तुलनात्मक हिसाबले अहिले भुक्तानी दर बढे पनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या १२ हजार ४१३ छ । दशैं अगाडि नै दाबी पेश गरेकाले पनि भुक्तानी पाएका छैनन् ।