काठमाडौँ । विद्यालयको पाठ्यक्रममा बीमाको विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने प्रतिबद्धता सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले जनाएका छन् । मंगलबार लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले यस्तो बताएका हुन् । सोही अवसरमा नगरपालिका उपप्रमुख भवानी केसीले नगरपालिकाको आगामी नीतिमा बीमालाई समेत समावेश गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरू पनि अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे ।नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी,जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।