free website hit counter

पेट्रोल प्रतिलिटर २०० रुपैयाँ

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आइतबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य कायम गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।

मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तोकिएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई ३१ मा पठाएको नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेल ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ६ पैसाले वृद्धि भएर आएको थियो। तर उपभोक्ताको हितलाई ध्यानमा राख्दै त्यसअनुसार पूर्ण रूपमा मूल्य नबढाई आंशिक समायोजन गरिएको निगमको दाबी छ।

निगमले नयाँ मूल्य लागू गरेपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिन भएको निगमको भनाइ छ।

निगमले इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन सबै उपभोक्तासँग आग्रह गरेको छ।

सम्बन्धित समाचार