काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हमेसा आफ्ना अडानबाट पछि हट्दैनन्। उनी सधैँ सम्झौता गर्न नमान्ने नेता भनेर एमालेमा चिनिन्छन्। तर, शुक्रबार उनी एक कदम पछि हटे। केन्द्रीय कार्यालय, च्यासलमा चार घण्टाभन्दा बढी समय बसेको सचिवालय बैठकमा उनले विधान संशोधनको प्रस्तावमाथि छलफल अगाडि बढाएका थिए। जसमा पदाधिकारी संख्या बढाएर १९ जना बनाउने, केन्द्रीय समिति बढाएर ३ सय माथि बनाउने लगायत थिए।
तर, त्यस प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले असहमति जनाए। तीन महिना अगाडि मात्रै विधान महाधिवेशन गरेर पदाधिकारी संख्या घटाइएकोले बढाउन नहुने भन्दै उनीहरू विरोध गर्न थाले। एघारौँ महाधिवेशनमा अध्यक्ष लड्ने घोषणा गरिसकेका पोखरेललाई सचिवालयका कम्तीमा ६ पदाधिकारीले साथ दिएका छन्। पोखरेल पक्षका नेताले असहमति जनाएपछि ओली पछि हटेको भट्टराईले बताए। उपाध्यक्ष गुरु बरालले पनि विधान संशोधन प्रस्तावमा केही नेताले सहमति नजनाएपछि फिर्ता लिएको बताए। उनका अनुसार घण्टा भन्दा बढी यही विषयमा छलफल भएको थियो। पछि महाधिवेशनमा समेत झमेला गर्ने भएपछि त्यसमा नपर्न भनेर विधान संशोधन प्रस्ताव अगाडि नबढाइएको बरालको भनाइ छ। यसपटक ओलीले सबै पक्ष मिलाउन विधान संशोधन आवश्यक रहेकोमा जोड दिएका थिए। प्रस्ताव पारित गरेर जान पटकपटक आग्रह पनि गरेको वरालको भनाइ छ। एमालेको दशौँ महाधिवेशनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरेर १९ सदस्यीय पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। भदौ २०–२२ मा ललितपुरमा भएको दोस्रो विधान महाधिवेशनबाट वरिष्ठ सहित ४ उपाध्यक्ष हटाएर तीनमा सीमित गरिएको थियो। यस्तै, एक महासचिव, तीन उपमहासचिव र सात जना सचिव राख्ने निर्णयलाई विधान महाधिवेशनले अनुमोदन गरेको थियो। तर, तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजेका ओलीलाई आफ्नै पक्षका धेरै नेताले पदाधिकारी दाबी गरेपछि व्यवस्थापन गर्न कठिन भएको थियो। झन् वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उठ्ने घोषणा गरेपछि ओलीले सबैलाई समेट्न विधान महाधिवेशनबाट संशोधन गरिएका पदाधिकारी, केन्द्रीय समिति बढाउन चाहेका थिए। त्यसलाई पोखरेल पक्षले रोकेको हो। विधान संशोधन गरिए दुई कार्यकालको प्रावधान लागू गराउनु पर्ने उनीहरूले सचिवालय बैठकमा अडान राखेका थिए।