काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार, स्वकीय सचिवालय तथा अन्य कर्मचारीको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन नेतृत्वको टोलीमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहको जिम्मेवारी पाएका व्यक्तिसमेत रहेका छन्।
कुमार ब्यञ्जनकारलाई अवैतनिक मुख्य राजनीतिक सल्लाहकारको जिम्मेवारी दिइएको छ। त्यस्तै, असिम शाह राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्। ब्यञ्जनकार र शाह दुवैलाई मन्त्रीसरहको पद दिइएको विवरणमा उल्लेख छ।
त्यसैगरी, प्राडा जगदिशप्रसाद अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकार छन्। उनलाई पनि मन्त्रीसरहको पद दिइएको छ।
नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको विवरणमा उल्लेख छ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवाष शर्मा छन्। उनलाई राजपत्रांकित विशिष्ट श्रेणीसरहको जिम्मेवारी दिइएको छ। स्वकीय सचिवमा नविन भण्डारी छन्, जसलाई राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारी दिइएको छ।
सहसचिव अर्थात् राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारी पाउनेमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) र विश्व राई (विज्ञ–सामाजिक विकास) रहेका छन्।
उपसचिव अर्थात् राजपत्रांकित द्वितीय श्रेणीसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले पाएका छन्।
सहायक विज्ञका रूपमा सुमन गौतमलाई नागरिक उड्डयन तथा रवि किरण अधिकारीलाई भाषा तथा मस्यौदाको जिम्मेवारी दिइएको छ।
यसैगरी शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राजकुमार गौतम र बेनिस कार्की कार्यरत रहेको विवरणमा उल्लेख छ।