काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार निर्जीवन बीमा अभिकर्ता बन्न इच्छुक नेपाली नागरिक तथा संस्थाका लागि कात्तिक ११ गतेदेखि १३ गतेसम्म तालिम सञ्चालन हुनेछ। तालिममा सहभागी हुन मान्यताप्राप्त शिक्षण संस्था वा बोर्डबाट न्यूनतम कक्षा १२ उत्तीर्ण वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिगत अभिकर्ताले नेपाली नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको चार प्रति फोटो र मोबाइल नम्बर तथा इमेल ठेगाना खुलाइएको निवेदन पेश गर्नुपर्नेछ।
संस्थागत अभिकर्ताका लागि भने सम्बन्धित संस्थाको निवेदन, सञ्चालकको फोटो तथा हस्ताक्षर, सञ्चालक नियुक्ति र पदावधि खुल्ने विवरण, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा बीमा अभिकर्ताको रूपमा काम गर्ने उद्देश्य उल्लेख भएको कागजातलगायत आवश्यक कागजात पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।
संस्थाले दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वार्षिक लेखापरीक्षण विवरण तथा कालोसूचीमा नरहेको प्रमाणपत्रसहित सम्बन्धित अन्य कागजात पनि पेश गर्नुपर्नेछ।
तालिम शुल्क १ हजार रुपैयाँ तोकिएको छ। अभिकर्ता इजाजतपत्र शुल्क भने यसमा समावेश गरिएको छैन। तालिम कात्तिक ११ देखि १३ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंबाट जुममार्फत सञ्चालन हुनेछ।
तालिमपछि कात्तिक १३ गते शुक्रबार साँझ ५ बजेदेखि ६ बजेसम्म परीक्षा सञ्चालन हुने कम्पनीले जनाएको छ।
इच्छुकले असोज ३० गतेभित्र आवश्यक कागजातसहित कम्पनीको मानव संसाधन विभागको इमेल ठेगाना hr@prabhuinsurance.com मा आवेदन पठाउनुपर्नेछ।