काठमाडौं । प्रभु बैंकको बहुचर्चित कर्जा अपचलन प्रकरणमा पक्राउ पर्ने बैंकका पदाधिकारी, कर्मचारी तथा ऋणीहरूको संख्या १८ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरअन्तर्गत अनुसन्धानलाई तीव्र बनाउँदै थप चार जनालाई पक्राउ गरेसँगै पक्राउ संख्या १८ पुगेको हो।
सीआईबीका अनुसार प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुरका चार वटा मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भइसकेका छन्, जसमा २९ जनालाई प्रतिवादी बनाइएको छ।
पछिल्लो चरणमा बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, बुटवल शाखाका कर्मचारी राजेन्द्र श्रेष्ठ तथा शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेल पक्राउ परेका छन्। उनीहरूलाई रिसोर्ट निर्माण तथा जग्गा खरिदका नाममा स्वीकृत ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको हो।
यसअघि सीआईबीले बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन, पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, पूर्व डीसीओ मणिराम पोखरेल, कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल, रेमिट्यान्स विभाग प्रमुख सुजिन (सुगेन) शाक्य, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रकाश पाण्डे, गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य, प्रभु म्यानेजमेन्टका पूर्व शेयरधनी हेमकुमार महाजनलगायतलाई पक्राउ गरिसकेको छ।
अनुसन्धानका क्रममा एसियन भिलेज रिसोर्ट खरिदका लागि कृषि, वन तथा पशु चिकित्सा विज्ञान संस्थान नामक कृत्रिम व्यवसाय खडा गरी बैंकलाई हानि पुर्याइएको तथा सो अपराध लुकाउन विभिन्न कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरिएको आरोप लगाइएको छ।
सीआईबीका अनुसार ४८ करोड रुपैयाँ कर्जा स्वीकृत गर्दा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि राख्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको थियो। साथै उक्त रकम रिसोर्ट निर्माणमा प्रयोग नगरी सम्बन्धित कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरिएको देखिएको छ।
सीआईबीले यस प्रकरणमा ५९ करोड रुपैयाँभन्दा बढी कर्जा दुरुपयोग भएको आरोपमा १२ जनाविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिसकेको छ। साथै प्रभु म्यानेजमेन्टसँग सम्बन्धित उजुरीको संख्या प्रारम्भिक ३८ बाट बढेर हाल ३१६ पुगेको जनाएको छ।