काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। तत्कालीन सनराइज बैंकका सीईओ रहेका शर्माविरुद्ध कर्जा स्वीकृति तथा धितो व्यवस्थापनसम्बन्धी विषयमा प्रहरीले पर्सा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
अञ्जलि इन्टरनेशनललाई कर्जा स्वीकृत गरेको विषयमा शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोग लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चारै जनालाई फरार प्रतिवादीका रूपमा राख्दै पक्राउ पुर्जीका लागि अदालतसँग अनुमति मागिएको छ।
अभियोगपत्रअनुसार अञ्जलि इन्टरनेशनलले व्यवसाय विस्तारका लागि धितोसहित कर्जा मागेको थियो। २०८० वैशाखमा ३ करोड ८९ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भए पनि स्वीकृत रकमअनुसार कर्जा प्रवाह नभएको प्रहरीको दाबी छ। उक्त कर्जाका लागि करिब ८९ लाख रुपैयाँ बराबरको धितो राखिएको उल्लेख छ।
उक्त कारोबारमा भएको भनिएको अनियमिततालाई लिएर प्रहरीले शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो। मुद्दामा लगाइएका आरोपबारे अदालतबाट हुने न्यायिक प्रक्रियाबाट अन्तिम निष्कर्ष आउनेछ।